
पोखरा स्पोर्टस । गण्डकी प्रदेशस्तरिय छात्र/छात्रा राष्ट्रपति रनिङ शिल्डको सम्पूर्ण तयारी पुरा भएको छ ।
पोखरमा भोलि विहिबारबाट सुरु हुने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजक प्रदेश खेलकुद परिषद गण्डकीले जनाएको हो । पोखरा रंगशालामा आयोजना हुने एक समारोहका विच गण्डकी प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारीले गर्ने परिषदका सदस्य सचिव तेज बहादुर गुरुङले जानकारी दिए । “भोली पोखरा रंगशालामा औपचारिक उद्घाटन हुनेछ भने खेलाडीहरुले मार्चपास समेत गर्नेछन् ” उनले भने ।
राष्ट्रपति रनिङ शिल्डमा कास्की, स्याङजा, मुस्ताङ, पर्वत, गोरखा, लमजुङ, नवलपुर, तनहुँ बागलुङ र म्याग्दीको सहभागिता रहेको छ । वर्षाका कारण सडक अवरोध भएका कारण मनाङले सहभागिता जनाएको छैन । प्रतियोगितामा १० जिल्लाका करिव ५ सय ७४ खेलाडीहरुको सहभागिता रहने भएको आयोजकले जनाएको छ ।
प्रतियोगिता अन्तर्गत टिम गेमतर्फ छात्र/छात्रा एथलेटिक्स, भलिबल, कब्बडी र मार्शल आर्टतर्फ तेक्वान्दो, उशु र कराते खेल हुनेछन् । प्रतियोगिताको समापन २४ गते हुने र सम्पन्न हुने प्रतियोगिताबाट राष्ट्रियस्तरको राष्ट्रपति रनिङ शिल्डका लागि खेलाडी छनौट समेत गरिने छ ।
