
पोखरा स्पोर्टस । गोर्खा कम्युनिटी पोखराले ‘प्रथम गोर्खा खुल्ला भेट्रान्स डबल्स तथा अन्तर पल्टन ब्याडमिन्टन प्रतियोगिता २०७९’ गर्ने भएको छ ।
बीर तथा इमान्दार गोर्खाजहरुको स्थापना भएको २०७ वर्षको उपलक्ष्यमा बैशाख ११ र १२ गते पोखरा ८ बगालेटोलस्थित सोपाल तमु समाज ब्याडमिन्टन हलमा प्रतियोगिता गरिने शनिवार सोपाल समाज भवनमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको हो ।
३८ देखि ५५ वर्ष, ५६ देखि माथि र अन्तर पल्टन टिम प्रतियोगिता (डबल्स र सिंगल्स) इभेन्टका खेलहरु हुने प्रतियोगिता संयोजक तथा गोर्खा कम्युनिटि पोखरामा संस्थापक अध्यक्ष मेजर लक्ष्मीप्रसाद गुरुङले पत्रकार सम्मेलनमा जानकारी गराएका छन् ।
समाज विकासका लागि भुमिका रहेको गोर्खाजहरुलाई खेल मार्फत पोखरालाई योगदान पुर्याउन आयोजित प्रतियोगिताको खुल्ला डबल्सतर्फ प्रथम हुनेले २५ हजार, द्वितियले १५ हजार, तृतियले १० हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्रबाट पुरस्कृत हुने र अन्तर पल्टन विजेता हुनेले समेत २५ हजार, द्वितियले १५ हजार, तृतियले १० हजार रुपैयासहित ट्रफी र प्रमाणपत्रबाट पुरस्कृत हुने आयोजकले जनाएको छ ।
प्रतियोगिता सम्पन्न गर्न करिब ४ लाख ५० हजार खर्च हुने र १ सय भन्दा बढी खेलाडीको सहभागिता रहने आयोजकको भनाई छ ।
प्रतियोगितामा सहभागीताका लागि बैशाख ९ गते भित्र पेन्सन पट्टाको फोटोकपी, पासपोर्ट साईको फोटोसहित खेलाडीको नाम दर्ता गर्नुपर्ने र बैशाख १० दिनको १२ बजेभित्र पोखरा १० बुद्धचोकस्थित गोर्खा सहकारी भवनमा खेलको टाइसिट सार्वजनिक गरिने गोर्खा कम्युनिटि पोखराका अध्यक्ष क्या.चोकबहादुर गुरुङले जानकारी दिए ।
अध्यक्ष क्या.गुरुङले गोर्खाहरुलाई नेपाली खेलकुद क्षेत्रमा ठुलो भुमिका रहेको उल्लेख गर्दै गोर्खाजको योगदानलाई सम्मान गर्न पत्रकार सम्मेलनमा आग्रह गरे । यसरी नै रेडियो गार्खालीकी संस्थापक अध्यक्ष सावित्री गुरुङले मिडियाले गोर्खाजहरुको गतिविधीलाई प्रचार प्रसारमा कन्जुस्याई नगर्न अनुरोध गरिन् ।
उक्त कार्यक्रम गोर्खा कम्युनिटी पोखराका अध्यक्ष क्या.चोकबहादुर गुरुङको अध्यक्षतामा भएको थियो ।
