
पोखरा स्पोर्टस । पोखरामा कात्तिक २४ गते शनिबार हुने ‘तेस्रो अन्तर्राष्ट्रिय पर्वतिय क्रस कन्ट्री दौड’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ।
हिमालयन टुरिजम फोरमको आयोजनामा हुने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजकले बिहिबार एक पत्रकार सम्मेलनमार्फत जनाएको हो । नेपाल र मित्रराष्ट्र चीनका खेलाडी सहभागी हुने प्रतियोगितामा दौडका विभिन्न चार विधामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताअन्तर्गत ५० किलोमिटर टिम इभेन्ट, च्यालेन्ज इन्डिभिजुअल इभेन्ट, ५ किमि छात्र/छात्रा दौड र २ किमि ह्यप्पी रन समावेश गरिएको छ ।
५० टिम इभेन्टतर्फ १७ नेपाली टिम र ४ चिनियाँ टिमसहित २१ टिम सहभागि रहेको प्रचार समितिका संयोजक ई.प्रतिक पाहारीले जानकारी दिएका छन् । च्यालेन्ज इन्डिभिजुअल इभेन्टतर्फ १ सयजना नेपाली र ५० जना चिनियाँ धावकहरुको सहभागिता रहेको छ भने छात्र/छात्रा दौडतर्फ ५ सय तथा ह्याप्पी रनतर्फ ५ सय ७९ जनाले नाम दर्ता गरेको आयोजकले जनाएको छ ।
५० टिम इभेन्टतर्फ विजेताले नगद रु ४ लाख ५८ हजार, उपविजेताले रु ३ लाख ४३ हजार, व्यक्तिगत विजेता महिला तथा पुरुषले समान रु १ लाख ५२ हजार प्राप्त गर्नेछन् । त्यस्तै छात्र/छात्रातर्फको प्रतिष्पर्धाका विजेताले रु ३० हजार प्राप्त गर्नेछन् ।
५० किमी पर्वतीय दौड पोखराको लेकसाइडस्थित बाराहीघाटबाट सुरू भएर छोरेपाटन, रामदी, फुस्रेखोला हुँदै स्याङ्जाको फेदीखोला, पोखरा महानगरपालिका–२२ पुम्दीभुम्दी, शान्तिस्तूपाबाट फेवाताल, पामे हुँदै पुनः बाराहीघाट आएर सम्पन्न हुनेछ।
प्रतियोगितामा सहभागी हुने चिनियाँ खेलाडी विमान चार्टर गरेर पोखरा बिहिबार नै पोखरा आइपुगेको संयोजक विश्वशङ्कर पालिखेले जानकारी दिए। प्रतियोगिताले नेपाल र चीनबीचको युगौँ देखिको सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउने विश्वास व्यक्त गरे।
६८ खेलाडीसहित १३४ सदस्यिय चिनियाँ टोली युनान प्रान्तका खेलकुद ब्यूरो निर्देशक याङ जोङ ह्वाको नेतृत्वमा पोखरा आइपुगेको हो । उनीहरुले शुक्रबार पोखराको विभिन्न स्थान भ्रमण गर्ने संगै बसुन्धरा पार्कमा स्प्रिङ सिटीको अनावरण गर्ने संगै पोखरा पर्वतीय सङ्ग्रहालयमा युनानका पर्वतीय वस्तु तथा स्रोतसम्बन्धी प्रदर्शनी पनि हुनेछ । प्रतियोगिताका क्रममा भोलिदेखि तीन दिनसम्म ‘पोखरा–कुन्मिङ इन्टरनेशनल फ्रेण्डसीप सिटिज लिग’ हुनेछ ।
कार्यक्रममा बोल्दै चिनियाँ दुतावासका वाङ सिङले यो प्रतियोगिताका लागि प्रतियोगिता मात्रै नभई दुई देश बिचको सम्वन्धलाई प्रगाढ बनाउन सहयोग पुग्ने बताए ।
प्रतियोगिता नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका र काठमाडौँस्थित चिनियाँ राजदूतावासको संयुक्त आयोजनामा हुन लागेको हो ।
