
पोखरा स्पोर्टस । ओलम्पिक कमिटीको आयोजनामा बुधबार साँझ वाकथलनसहित बुद्ध जन्मभूमि लुम्बिनीमा पहिलो पटक ‘इन्टरनेसनल डे अफ स्पोर्टस फर डेभलपमेन्ट एन्ड पिस’ भब्य रूपमा मनाइएको छ ।

लुम्बिनी प्रदेश सरकार र लुम्बिनी विकास कोषको सह आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रममा राजनीतिज्ञ, खेलकर्मी, भिक्षुभिक्षुणी, पत्रकार र विद्यार्थीको उल्लेखनीय सहभागिता रहेको थियो ।
लुम्बिनी परिसरमा आयोजित वाकथलन मायादेवी मन्दिरमा गएर समापन भएको थियो । मायादेवी मन्दिरमा विश्वमा शान्तिको कामना गर्दै दीप प्रज्वलित गरिएको थियो ।
त्यस अवसरमा प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले यस प्रकारको कार्यक्रमले ओलम्पिक आन्दोलनको माध्यमबाट विश्वमा लुम्बिनीको प्रचार प्रसार हुने विश्वास व्यक्त गरे ।
भिक्षु भिक्षुणीबाट शान्ति पाठसहित सुरु भएको कार्यक्रममा कमिटीका अध्यक्ष तथा सांसद जीवनराम श्रेष्ठले बुद्धकालीन समयमै लुम्बिनीमा वृहत खेलकुद कार्यक्रम भएको इतिहास भएको बताउँदै यो क्षेत्र शान्तिको प्रतीकको रूपमा रहेको र आगामी वर्ष कार्यक्रमलाई अझ भब्य रूपमा मनाउने योजना रहेको सुनाए । उनले आगामी वर्षमा पिस म्याराथन आयोजना गर्ने योजना रहेको पनि उल्लेख गरे ।
यस्तै लुम्बिनी विकास कोषका उपाध्यक्ष तथा भिक्षु मैत्तेयले बुद्धजन्म भूमी कुनै पनि प्रकारको वृहत खेलकुद आयोजनाका लागि उपयुक्त रहेको बताए । खेलकुद विश्वमा शान्ति तथा भाइचारा फैलाउनका लागि सबैभन्दा उपयुक्त माध्यम रहेको उनको भनाई थियो ।
कार्यक्रमको महत्त्वबारे लुम्बिनी खेलकुद विकास परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईले प्रकाश पारेका थिए ।
सन् २०१३ मा संयुक्त राष्ट्रसंघले अप्रिल ६ को दिनलाई ‘इन्टरनेसनल डे अफ स्पोर्टस फर डेभलपमेन्ट एन्ड पिस’ मनाउने निर्णय पारित गरेको थियो । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले यसका लागि प्रस्ताव राखेको थियो । त्यस अनुसार पूरा विश्वमा विविध कार्यक्रम गर्दै यो दिनलाई मनाउँदै आएको छ । नेपालमा सन् २०१४ देखि यस दिन विभिन्न कार्यक्रम गर्न सुरु भएको हो ।
