दोश्रो टाइगर कप आमन्त्रित भलिबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा पुलिस क्लव विजयी

पोखरा स्पोर्टस । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा दोश्रो टाइगर कप आमन्त्रित महिला तथा पुरुष भलिवल प्रतियोगिता सोमबारबाट पोखरामा सुरु भएको छ ।

माघ १ गते सम्म पोखरा रंगशालामा सञ्चालन हुने प्रतियोगितामा पहिलो दिन पुरुष र महिलातर्फ गरी चार खेल सम्पन्न भएका छन् । आज सम्पन्न उद्घाटन खेलमा पुरुषतर्फ नेपाल पुलिस क्लवले टिप–टप हेल्प नेपाललाई ३–२ ले पराजित गरेको छ ।

भारतिय ३ जना खेलाडी सम्मिलित हेल्प नेपालले पहिलो सेट २५–१६ ले, दोश्रो सेट ३१–२९ ले जित्दै नेपाल पुलिसलाई दवावमा राखेको थियो । तर नेपाल पुलिसले पछिल्ला तिन सेटमा खेलमा फर्किदै राउण्ड रोविन लिगको पहिलो खेल आफ्नो पक्षमा पार्न सफल भएको छ । पुलिसले तेश्रो, चौथो र पाँचौ सेट २५–१९, २५–२३ र १७–१५ ले जितेको थियो । उक्त खेलमा हेल्प नेपालका भारतिय खेलाडी अमित म्यान अफ दि म्याच र नेपाल पुलिसका भिम राना मगर उत्कृष्ट डिफेण्डर घोषित भएका छन् ।

यसै गरी पुरुषतर्फको एक अर्को खेलमा डिफेण्डिङ च्याम्पियन समेत रहेको गण्डकी प्रदेश विजयी भएको छ । गण्डकीले शसस्त्र प्रहरीवल (एपिएफ) क्लवलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पहिलो सेट २५–१७ ले जितेको गण्डकीले दोश्रो सेट २५–२२ र तेश्रो सेट २५–१७ ले आफ्नो पक्षमा पार्न सफल भयो । उक्त खेलमा गण्डकीका हिमाल सुनारी मगर म्यान अफ दि म्याच हुँदै नगद ५ हजार हात पारेका छन् भने एफिएफका विनोद चन्द उत्कृष्ट डिफेण्डर घोषित भएका छन् ।

यस्तै महिलातर्फको खेलमा होवाङ्ग्जी न्यू डायमण्ड र शसस्त्र प्रहरीवल (एपिएफ) क्लव विजयी भएका छन् । न्यू डायमण्डले नेपाल आर्मीलाई ३–१ को सेटमा पराजित गरेको हो भने शसस्त्रले नेपाल पुलिसलाई ३–१ सेटमा नै पराजित गरेको थियो । न्यू डायमण्डले केही विदेशी खेलाडीका साथ मैदानमा आर्मीलाई खेलमा पहिलो सेटबाट नै दवावमा राख्दै २५–१७, दोश्रो सेट २५–२२ ले जित्दा तेश्रो सेट भने २५–१३ ले गुमाउन पुगेको थियो । तर चौथो सेटमा २५–१७ ले खेलमा फर्किदै डायमण्ड बिजयी बन्यो । उक्त खेलमा न्यू डायमण्डकी प्रतिभा माली म्यान अफ दि म्याच भइन् भने आर्मीकी सलिना श्रेष्ठ उत्कृष्ट डिफेण्डर भइन् ।

यस्तै एपिएफले आफ्नो चिर परिचित प्रतिद्वन्दी नेपाल पुलिसलाई ३–१ को सेटमा पराजित गरेको छ । पहिलो दुई सेट २६–२४ र २५–१८ ले जितेको एफिएफले तेश्रो सेट भने २३–२५ ले गुमाउन पुग्यो । तर चौथो सेटमा एपिएफले २५–२३ ले जित्दै अंक बटुल्न सफल भएको छ । उक्त खेलमा एपिएफकी सरस्वती चौधरी म्यान अफ दि म्याच भइन् भने नेपाल पुलिसकी शान्तीकला तामाङ उत्कृष्ट डिफेण्डर भएकी छन् ।

यस अघि प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्य मन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेश र राजधानी सहर पोखरालाई खेलकुदको ‘हब’ का रुपमा विकास गर्ने प्रमुख लक्ष्य रहेको बताए । उनले भने, “गण्डकी प्रदेशलाई विभिन्न विधाको केन्द्र रुपमा विकसित गर्ने लक्ष्य छ । प्रमुख लक्ष्य पोखरालाई अन्तर्राष्ट्रिय रुपमा खेल केन्द्रका रुपमा अगाडि बढाउन चाहन्छौँ ।”

मुख्यमन्त्री पोखरेलले गण्डकी प्रदेशमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ भलिबल प्रतियोगिता आयोजना गरेकामा आयोजकलाई धन्यवाद समेत दिए। प्रदेश सरकारले आफ्नो क्षमताअनुसार खेलाडीलाई सुविधा उपलब्ध गराउने र रङ्गशालाको स्तरोन्नतिका लागि काम गर्ने उनले प्रतिबद्धता जनाए । उनले सो अवसरमा छोटो समयमा समेत प्रदेश खेलकुद परिषद गण्डकीले निकै उत्साहित रुपमा खेलकुद विकासका कार्यहरु अघि बढाएको भन्दै प्रशंसा समेत गरे ।

सो अवसरमा नेपाल भलिबल सङ्घका केन्द्रीय उपाध्यक्ष निरोज मास्केले सरकारले खेलाडी तथा खेल पूर्वाधारका क्षेत्रमा लगानी वृद्धि गर्नुपर्ने बताए ।

कार्यक्रममा गण्डकी प्रदेशका यूवा तथा खेलकुद मन्त्री राजिव गुरुङ, राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङ, प्रदेश खेलकुदका सदस्य सचिव तेज बहादुर गुरुङ लगायत विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै प्रतियोगिता आयोजक संस्थाका अध्यक्ष नारायण प्रसाद शर्माले सवै सहयोगीहरु प्रती आभार प्रकट गरे । उनले प्रतियोगिताको मुख्य प्रायोजक शुश्री मिडिया प्राली, गण्डकी प्रदेश सरकार, प्रदेश खेलकुद परिषद गण्डकी, पोखरा महानगर पालिका लगायत देश विदेशमा रहेका भलिवल प्रेमीहरुको सहयोगले नै प्रतियोगिता आयोजना सफल रुपमा अघि बढेको बताउँदै कोभिड १९लाई मध्यनजर गर्दै दर्शकहरुलाई स्वास्थ्यका मापदण्ड पालना गर्दै खेल अवलोकन गर्न आग्रह गरे ।

माघ १ गते सम्म राउण्ड रोविन लिगको आधारमा सञ्चालन भएको प्रतियोगितामा महिला र पुरुष गरी १० टिमको सहभागिता छ । प्रतियोगितामा महिला तर्फ विभागिय टिमहरुमा नेपाल आर्मी क्लव, नेपाल पुलिस र शसस्त्र प्रहरीबल, न्यू डायमण्ड र आयोजक संस्था टाइगर ग्रुप अफ पोखरा नेपाल रहको छ । आयोजकको टिममा नेपाल महिला भलिबलकी क्याप्टेन अरुणा शाहीको नेतृत्वमा श्रीलंकका महिला भलिबलका क्याप्टेन सहित ३ जना खेलाडीहरूको सहभागिता रहेकोछ । त्यस्तै पुरुषतर्फ गण्डकी प्रदेश, विभागिय टिमहरू नेपाल आर्मी क्लव, नेपाल पुलिस क्लव र शसस्त्र प्रहरीवल, टिप टप हेल्प नेपाल स्पोर्टस क्लवको टिम रहेका छन् ।

प्रतियोगिताको उपाधि विजेता महिला/पुरुष उपाधी विजेता टिमलाई समान नगद रु. ३/३ लाख, उपविजेता महिला/पुरुष टिमलाई समान नगद रु. १ लाख ५० हजार, तेश्रो हुने महिला/पुरुष टिमलाई समान नगद रु. ७५ हजार र सान्त्वना हुने महिला÷पुरुष टिमलाई नगद ३५ हजार प्रदान गर्ने आयोजकले जनाएको छ । यसै गरी महिला तथा पुरुष तर्फ उत्कष्ट एक–एक खेलाडीलाई समान नगद रु. २५/२५ हजार तथा हरेक विद्याका उत्कृष्ट खेलाडीहरुलाई नगद जनही नगद १०/१० हजार सहित र ट्रफीद्वारा सम्मान गरिनेछ ।

प्रतियोगितालाई सफल बनाउन मुख्यमन्त्रीको कार्यालय, गण्डकी प्रदेश, राष्ट्रिय खेलकुद परिषद, नेपाल भलिबल संघ, यूवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेश, नेपाल भलिबल संघ जापान शाखा, प्रदेश खेलकुद परिषद गण्डकी, जिल्ला खेलकुद विकास समिती कास्की, महानगर पालिका कार्यालय, अन्नपूर्ण केबल कार प्रा.लि., पोखरा, प्रभु बैंक लिमिटेड, गण्डकी प्रदेश, मुक्तिनाथ विकास बैंक, अन्नपूर्ण गाउँ पालिका, केएफसी, काठमाण्डौ, बतास ब्रदर्श अर्गनाईजेशन, अटोवेज प्रा.लि., होटल बाराही, पोखरा, माउण्ट कैलाश रिसोर्ट, होटल पेनेन्सुल्ला, पोखरा, कास्की जिल्ला कवाडी संघ, विश्वकर्मा सप्लायर्स, कृषि तथा पशुपंछी फर्म, कुस्मा नगरपालिका–११, पकुवापोखरा महानगरपालिका, नगर खेलकुद विकास समिति, केल्मी, नेपाल टेलिकम, इसेवा रेमिट लगायत एक दर्जन संघ संस्थाले सहयोग गरेको संस्थाका सदस्य डिवी नेपालीले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close