
पोखरा स्पोर्टस । पोखरामा शनिबार सम्पन्न ‘एशिया कप ट्राइयाथलन तथा दक्षिण एशिया च्याम्पियनसीप’ अन्तर्गत पुरुषतर्फ जापानका गेन्टा युचिदाले उपाधि जित्न सफल भएका छन् भने महिलातर्फ काजाकिस्तानकी इकातेरिना सावालिना च्याम्पियन बनिन ।



नेपाल ट्राइयाथलन सङ्घको आयोजनामा भएको प्रतियोगितामा पुरुषतर्फ च्याम्पियन बनेका गेन्टाले ७५० मिटर पौडी, २० किमी साईक्लिङ र पाँच किमी दौड ५३ मिनेट १४ सेकेण्डमा पूरा गर्दै उपाधि जितेका हुन् । पुरुषतर्फ नै जापानकै क्योतारो ओसिकावाले ५३ मिनेट २२ सकेण्ड र अष्ट्रियाका लियोन पावगरले ५३ मिनेट ३६ सेकेण्डमा निर्धारित दूरी पार गरी क्रमशः द्वितीय र तृतीय भए ।
महिलातर्फ च्याम्पियन बनेकी काजाकिस्तानी इकातेरिना सवालिनाले फेवातालमा ७५० मिटर पौडी सहित २० किमी साईक्लिङ र पाँच किमी दौड एक घण्टा दुई मिनेट २० सेकेण्डमा पार गरेकी थिइन् । महिलातर्फ द्वितीय हुन सफल जापानकी हिराकु फुकुओकाले एक घण्टा दुई मिनेट ५३ सेकेण्ड र काजाकिस्तानका नाजेन्दा बेकमागनले एक घण्टा चार मिनेट १४ सेकेण्डमा तोकिएको दूरी पार गरी तृतीय हुन सफल भइन ।
जपानको टिएनटि टिभि र टिभिएस अपाचेको प्रायोजन रहेको प्रतियोगिताको शिर्ष तीन स्थान प्राप्त गर्ने खेलाडीहरुले मेडल, ट्रफी, प्रमाण पत्रका साथै नगद ६३० डलर, ५२५ डलर र ४२० डलर प्राप्त गरे । यस्तै चौथोले ३१५ डलर र पाँचौले २१० डलर प्राप्त गरे ।
आदर्श र प्रग्न्यालाई दक्षिण एशियाली उपाधी
सोही क्रममा भएको दक्षिण एशियाली ट्राइयाथलन च्याम्पियनसिपको उपाधी भारतका आदर्श मुरलीधरण नायर सिनिमोल र प्रज्ञा मोहनले प्राप्त गरेका छन् । आदर्शले ५९ मिनट १० सेकेन्डमा दुरी पुरा गर्दै उपाधी जितेका हुन् । यस्तै पहिलो संस्करणकी बिजेता प्रग्न्याले १ घन्टा ६ मिनट २२ सेकेन्डमा दुरी पुरा गर्दै उपाधी जितेकी हुन् । उनले आफ्नो समयमा अघिल्लो संस्करणमा भन्दा ३ मिनटले सुधार गरेकी हुन् ।
भारतिय खेलाडीहरुको दवदवा रहेको स्पर्धामा राहुल धनजी सिन्धेले ५९ मिनट ४२ सेकेन्डका साथ रजत र विश्वनाथ यादवले ५९ मिनट ४३ सेकेन्डका साथ कास्य पाए । यस्तै महिला तर्फ मानषी मोईतेले १ घन्टा ८ मिनट १८ सेकेन्डका साथ रजत र संजना जोशीले १ घन्टा १० मिनट ८ सेकेन्डका साथ कास्य पाईन् ।
राष्ट्रियमा बसन्त र सोनीले जिते
राष्ट्रिय तर्फको प्रतिस्पर्धामा सेनाका बशन्त थारु र एपिएफकी सोनी गुरुङ्गले जित स्वर्ण हात पारे । थारुले १ घन्टा ३ मिनट २ सेकेन्डमा दुरी पुरा गरे भने सोनीले १ घन्टा ११ मिनट १७ सेकेन्डमा दुरी पुरा गरिन् । दोश्रो स्थानमा रहेका दिपेश चौधरीले १ घन्टा ५ मिनट ६ सेकेन्ड र तेश्रो स्थानमा रहेका मुकेश थारुले १ घन्टा ७ मिनट ५५ सेकेन्डमा दुरी पुरा गरे । यस्तै महिला तर्फ केशरी थापा मगरले १ घन्टा २१ मिनट २ सेकेन्डका साथ रजत र सस्तिका भण्डारीले १ घन्टा ३२ मिनट ११ सेकेन्डका साथ कास्य पाए ।
प्रतियोगितामा नेपाल सहित जापान, अष्ट्रिया, पोल्याण्ड, काजाकिस्तान, भारत र बङ्गलादेश गरी सात राष्ट्रका पुरुष तर्फ ४० र महिला तर्फ २३ गरी ६३ खेलाडीहरुले सहभागिता जनाएको नेपाल ट्राइयाथलन सङ्घका केन्द्रीय अध्यक्ष निलेन्द्रराज श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा पौडी फेवातालमा गराइएको थियो ।
साइक्लिङ र दौड गौरीघाट—शहीदचोक, मुस्ताङचोक, विरौटाचोक, ड्यामसाईड हुदैं राष्ट्रबैंकचोक हुदैं गौरीघाटमा पुगेर समापन गरिएको थियो ।
प्रतियोगितामा विजयी खेलाडीहरुलाई युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराज, सङ्घका अध्यक्ष श्रेष्ठ, राखेपका निमित्ति सदस्य सचिव कुल बहादुर थापा, प्रदेश साँसद एवं संघका उपाध्यक्ष दीपक कोईराला, राखेपका सदस्य राजेश कुमार गुरुङ, प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेज बहादुर गुरुङ, राखेपका सदस्य गोविन्द भट्टराईलगायतले मेडल तथा प्रमाणप्रण वितरण गरेका थिए ।
यस अघि प्रतियोगिताको उद्घाटन गर्दै यूवा तथा खेलकुद मन्त्री गहतराजले नेपालको पर्यटन प्रवर्द्धनमा यस प्रकारका प्रतियोगिताले सहयोग पुग्ने बताए । उनले कोभिड पछि आयोजित प्रतियोगिताले विश्वमा नै नेपाल शुरक्षित गन्तव्य हो भन्ने सन्देश दिएको उल्लेख गर्दै सरकारले यस प्रकारका खेलकुद प्रतियोगिताहरुलाई आयोजना गर्न प्रोत्सहान गर्ने बताए ।
च्याम्पियनसीपले खेलकुदको विकाससँगै पर्यटनलाई पनि अगाडि बढाउन मद्धत पुग्ने विश्वास आयोजक संस्थाका अध्यक्ष श्रेष्ठले बताए । सन २०११ बाट नेपालमा ट्राइयाथलनले नयाँ फड्को मार्न सुरु गरेको उल्लेख गर्दै आगामी प्रतियोगिताहरुलाई अझै व्यवस्थित बनाउने बताए ।
प्रतियोगिता अन्तर्गत दुआथलनको प्रतिष्पर्धा भोली आइतबार हुने भएको आयोजकले जनाएको छ ।
