
पोखरा स्पोर्टस । नेपाल तेक्वान्दो संघको आयोजनामा हुने ‘१७ औं राष्ट्रिय तेक्वान्दो प्रतियोगिता’मा सहभागिता जनाउन गण्डकी प्रदेशको तेक्वान्दो टोली विहिबार काठमाडौं प्रस्थान गरेको छ ।
यहि चैत १८ र १९ गते हुने प्रतियोगितामा जुनियर र सिनियर गरी २३ जना खेलाडीहरुले सहभागिता जनाउने भएको नेपाल तेक्वान्दो संघ गण्डकी प्रदेशका अध्यक्ष जगन बहादुर गुरुङले जनाएका हुन् । प्रतियोगिता सिनियर पुरुषतर्फ विभिन्न तौल समुहमा गरी ८ जना, सिनियर महिलातर्फ ६ जना, जुनियर पुरुषतर्फ ५ र महिला जुनियरमा ४ जना खेलाडीले प्रतिष्पर्धा गर्ने भएका छन् ।

उक्त प्रतियोगितामा सहभागिता जनाउन सुन बहादुर लामाको नेतृत्वमा प्रस्थान गरेको टोलीको प्रशिक्षकमा कुमार गुरुङ र गंगा बहादुर गुरुङ रहेका छन् ।
काठमाडौं हिंडेको टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङ, ओलम्पियन नारायण गुरुङ, क्षेत्रिय खेलकुदका कार्यालय प्रमुख लक्ष्मण योगी लगायतले जितको शुभकामना दिंदै विदाई गरेका थिए ।
उक्त प्रतियोगिताबाट विजयी हुने खेलाडीहरुले १९ औं एशियाली खेलकुदका लागि वन्द प्रशिक्षणमा सहभागिता जनाउन अवसर पाउने अध्यक्ष गुरुङले पोखरा स्पोर्टसलाई बताए ।
