पोखरामा सुरु भयो प्याराग्लाइडिङ च्याम्पियनसिपको तयारी

पोखरा स्पोर्टस । पोखरामा यहि चैत २३ देखि २५ गते सम्म “२० औं अन्तर्राष्टिय प्याराग्लाइडिङको छाता संस्था (एफएआई) मान्यता प्राप्त ‘नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप’ हुने भएको छ ।

पोखरास्थित प्याराग्लाइडिङ व्यवसायीहरुको छाता संस्था नेपाल हवाई खेलकुद संस्था (ना)ले एक पत्रकार सम्मेलन आयोजना गरी उक्त प्रतियोगिताको तयारी थालेको जनाएको हो । प्रतियोगिता नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघ र नेपाल प्याराग्लाइडिङ पाइलट क्लबको सहयोगमा हुने भएको छ । तिन दिन सम्म हुने उक्त प्रतियोगितामा ‘एक्युरेसी’ तर्फ मात्रै प्रतिष्पर्धा हुने भएको नाले जनाएको छ । एफएआईका अन्तर्राष्ट्रिय च्याम्पियनसिप, नेपालमा हुने प्याराग्लाइडिङ वर्ल्ड कप तथा प्रि वर्ल्डकप र पोखरामा हुने नवौं राष्ट्रिय खेलकुदको तयारीका लागि समेत प्रतियोगिता सञ्चालन गर्न लागिएको प्रतियोगिताका संयोजक बलराम आचार्यले जनाएका छन् ।

प्याराग्लाइडिङको एक्युरेसी विद्यातर्फ विभिन्न चार वटा इभेन्टमा महिला तथा पुरुष खेलाडीले सहभागिता जनाउने छन् । त्यसै गरी प्रतिष्पर्धा अन्तर्गत ल्याण्डिङ् ओभरअलको प्रथम, द्वितिय, तृतिय र सान्त्वना तर्फ हुने खेलाडीले क्रमश नगद रु ५०, ३०, २० र १० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । महिलातर्फ भने सो विद्या अन्तर्गत प्रथम, द्वितिय, तृतिय र सान्त्वना तर्फ हुने खेलाडीले क्रमश नगद रु ३०, २०, १० र ५ हजार प्राप्त गर्नेछन् ।

त्यसै गरी अन्य विद्यातर्फको एक्युरेसी टेन्डम पुरुष अन्तर्गत प्रथम, द्वितिय, तृतिय र सान्त्वना तर्फ हुने खेलाडीले क्रमश नगद रु ३०, २०, १० र ५ हजार प्राप्त गर्नेछन् भने एयर शो तर्फ वेष्ट एक्रोबेटिक शोतर्फ प्रथम हुनेले नगद १५ हजार, दोश्रोले नगद १० हजार र तेश्रो हुनेले नगद ५ हजारका साथमा मेडल र प्रमाणपत्र गर्नेछन् । त्यसै गरी वेष्ट कस्टुयुमतर्फ समेत पुरस्कार प्रदान गरिने छ । उक्त प्रतियोगितामा वेष्ट कस्टुयुमतर्फ नगद १० हजार प्रदान गरिनेछ ।

विश्व महामारीको रुपमा फैलिएको कोभिड १९ का कारण दुई वर्ष देखि स्थगित उक्त प्रतियोगिता यो वर्ष सञ्चालन हुन लागेको जानकारी दिंदै प्रतियोगितामा महिला र पुरुष खेलाडी गरी करिव १ सय जना खेलाडीको सहभागिता हुने प्रतियोगिता निर्णायक समितीका संयोजक योगेश भट्टराईले बताए ।

प्रतियोगिताबारे जानकारी दिन आयोजित कार्यक्रममा नेपाल पर्यटन वोर्डका प्रवन्धक नविन पोखरेलले पोखरा पर्यटकिय दृष्टिकोणले मात्रै नभई सहासिक खेलकुदको गन्तव्यका रुपमा समेत आफ्नो पहिचान स्थापित गरेको बताए । प्रतियोगिता लाई नेपाल पर्यटन वोर्डले प्रवर्द्धन गर्ने भएको छ ।

पोखरामा व्यवसायिकरुपमा सञ्चालन भएका ६० भन्दा वढी कम्पनी रहेको र करिव ५ सयको हाराहारीमा प्याराग्लाइडिङ पाइलटहरु कार्यरत रहेको अध्यक्ष कृष्ण भण्डारीले बताए । कोभिडका कारण थला परेको पर्यटन उकास्न प्रतियोगिताले सहयोग पुग्ने उनको भनाई थियो । प्रतियोगिता सम्पन्न गर्न ३० लाख खर्च लाग्ने उनले जानकारी दिएका छन् ।

सो अवसरमा नाका सचिव माधव तिवारी र प्रतियोगिताका निर्णायक समितीका सह–संयोजक अनिल केसीले समेत प्रतियोगिताको तयारी बारे जानकारी गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close