त्रिकोणात्मक टी–२० : लगातार तेस्रो जित हात पार्दै नेपाल फाइनलमा

पोखरा स्पोर्टस । तीव्र गतिका बलर करण केसीले पहिलोपक टी–२० क्रिकेटमा ह्याट्रिक पूरा गर्दै ५ विकेट लिएपछि राजधानीमा जारी त्रिकोणात्मक टी–२० सिरिजमा नेपाल लगातार तेस्रो खेलमा जित हात पार्दै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

पपुवा न्युगिनी विरुद्ध दोस्रो खेलमा ३७ रनको सहज जित हासिल गरेपछि नेपालले एक खेल अगाडि नै फाइनलमा स्थान पक्का गरेको हो । खेलमा पपुवा न्युगिनीले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको थियो । तर पीएनजीको यो निर्णयलाई गलत सावित गर्दै नेपाली खेलाडीहरुले खुलेर ब्याटिङ गरे।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २०३ रनको योगफल बनाएको थियो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ६६ रनको योगदान दिए । उनले ३३ बल खेल्ने क्रममा तीन चौका र चार छक्का प्रहार गरे । यस्तै रोहित पौडेलले ४१, आशिफ शेखले ३८, मोहमद आदिलले ३१, कुशल भुर्तेलले १७, आरिफ शेखले २ तथा करण केसीले एक रन बनाए ।

बलिङतर्फ पपुवा न्युगिनीका काबुआ मोरेआले तीन, राइली हेकुरेले दुई तथा नोर्मान आनुअ र नोसैना पोकनाले एक/एक विकेट लिए ।

नेपालले दिएको २०४ रनको लक्ष्य पछ्याएको पपुवा न्युगिनी १९ दशमलव ४ ओभरमा सबै विकेट गुमाएर १६६ रनमा समेटियो ।

पपुवा न्युगिनीका लागि चार्ल्स अमिनीले सर्वाधिक ६२ रनको योगदान दिए । उनले ४७ बल खेल्दै ९ चौका प्रहार गरे । टोनी उराले ४३ रन बनाए । त्यस्तै सेसे बाउले २५ रनको योगदान गरे भने नोरमान भानुअले १७, रिले हेकुरेले ६, चाड सोपरले २ तथा कप्तान असद भालाले एक रन बनाए । बलिङतर्फ नेपालका लागि करण केसीले ह्याट्रिससहित ५ विकेट लिए । त्यस्तै अविनास बोहरा र सोमपाल कामीले दुईं दुई तथा कप्तान सन्दीप लामिछानेले एक विकेट लिए ।

जीतसँगै नेपालले ३ खेलमा ६ अङ्क जोडेको छ । नेपाल अङ्क तालिकाको शीर्षस्थानमा छ । सिरिजको पहिलो खेलमा नेपालले पपुवा न्युगिनीलाई १५ रनले तथा दोस्रो खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो । नेपालले अब शनिबार मलेसियासँग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close