टी–२० सिरिज : नेपालद्वारा पपुवा न्यूगिनी पराजित

पोखरा स्पोर्टस । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत पहिलो खेलमा नेपालले पपुवा न्यूगिनीलाई पराजित गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले पपुवा न्यूगिनीलाई १५ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको हो । नेपालले दिएको १८४ रनको लक्ष्य पछ्याएको पपुवा न्यूगिनी १९ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै १६८ रनमा समेटियो । पपुवा न्यूगिनीका लागि नोरमान भानुले सर्वाधिक ५२ रनको योगदान दिए । उनले २९ बल खेल्दै ४ छक्का र ५ चौका प्रहार गरे । यस्तै सेसे बाउले ३०, चार्ल्स अमिनीले २२, लेगा सिएकाले २१, चाड सोपरले १३, कप्तान असद भालाले ७, टोनी उराले ५, तथा रिले हेकुरे ३ रन बनाए ।

बलिङतर्फ नेपालका लागि करण केसी र सन्दीप लामिछानेले तीन–तीन, अविनाश बोहराले दुई र सोमपाल कामीले एक विकेट हात पारे ।

यसअघि टस हारेर पहिला ब्याटिङ गर्दै नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १८३ रन बनायो । नेपालका लागि आसिफ शेखले सर्वाधिक ४३ रन बनाए । यस्तै रोहित पौडेलले ३४, आरिफ शेखले ३१, कुशल भूर्तेलले २०, करण केसीले १९, कुशल मल्लले ११, लोकेस बमले ५, दीपेन्द्रसिंह ऐरीले ४ तथा सोमपाल कामी र सन्दिप लामिछानेले एक–एक रन बनाए ।

बलिङतर्फ पवुवा न्यूगिनीका चाल्र्स अमिनी, अलेइ नाओ र चाड सोपरले दुई दुई तथा नोरमान भानु र रिले हेकुरेले एक–एक विकेट लिए ।

जीतसँगै नेपालले २ अङ्क जोडेको छ । नेपाल, पपुवा न्युगिनी र मलेसिया सम्मिलित सिरिजमा अब नेपालले दोस्रो खेल बुधबार मलेसियासँग खेल्नेछ । मङ्गलबार पपुवा न्यूगिनी र मलेसियाबीच खेल हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close