
पोखरा स्पोर्टस । कास्की जिल्ला स्तरीय लिगकम नकाउट फूटबल प्रतियोगिता चैतको २१ गतेबाट सुरु हुने भएको छ ।
कास्की जिल्ला फुटबल संघले एक सूचना मार्फत उक्त कुरा जानकारी गराएको हो । उक्त लिगमा कास्की जिल्ला फुटबल संघमा आवद्ध २१ वटा क्लवहरुको सहभागिता रहने संघका महासचिव रमेश कार्कीले जनाएका छन् । लिग कम नक आउटका आधारमा सञ्चालन हुने उक्त प्रतियोगिता पोखरा महानगर भित्र रहेका तिन वटा खेल मैदानमा सञ्चालन हुने जनाईएको छ ।
महासचिव कार्कीका अनुसार लिग प्रतियोगिताहरु पोखरा रंगशाला, पोखरा २५ हेमजास्थित गौरीशंकर खेल मैदान र पोखरा १९ स्थित गोस्तेघाट खेल मैदानमा सञ्चालन हुनेछन् । उक्त प्रतियोगितामा कुल ५७ खेल सञ्चालन हुने छन् । प्रतियोगिता सञ्चालनका गर्न हेमजाको लागि इन्द्र बहादुर कुंवर, गोस्तेघाट खेल मैदानका लागि आशिषमान सिंह भण्डारी, पोखरा रंगशालाका लागि नर प्रसाद गुरुङलाई संयोजक तोकेको छ ।
एन्फा कास्की को आयोजनामा यहि मिति २०७८ चैत्र २१ गते देखि एन्फा कास्की सङ आबद्ध रहेका २२ वटा क्लब बिच कास्की जिल्ला स्तरीय लिगकम नकाउट फूटबल प्रतियोगिता सन्चालन गरिने छ । संघले सूचना प्रकाशित गर्दै उक्त प्रतियोगिता बारे सबै क्लवहरुलाई पत्रचार गरिएको जानकारी गराउँदै प्रतियोगितामा सहभागिताका लागि अनुरोध गरेको छ ।
विश्व महामारीको रुपमा फैलिएको कोभिड १९ का कारण दुई वर्ष देखि स्थगित लिग प्रतियोगिता सञ्चालन हुने भए पछि क्लवहरुले समेत आफ्नो आन्तरिक तयारी थालेको जनाइएको छ । यस संगै अखिल नेपाल फुटबल संघ (एन्फा)ले आफ्नो निर्वाचन कार्यक्रम समेत गर्ने तयारी गरिरहेकोले संघमा आवद्ध क्लवहरुले अनिवार्य रुपमा लिग प्रतियोगितामा सहभागिता हुनुपर्ने प्रावधान एन्फाको विधानमा समेत रहेको छ ।
यता कास्की जिल्ला फुटबल संघले आगामी २०७९ वैशाख ७ गते निर्वाचन गर्ने गरी तालिका सार्वजनिक गरेको कास्कीका अध्यक्ष मिलन गुरुङले जनाएका छन् । निर्वाचनका लागि समेत कास्की फुटबल संघमा नेतृत्वका लागि सरगर्मी बढ्न थालेको छ ।
