एसियाली खेलकुद : पब्जी मोबाइलमा नेपाल सेमिफाइनलमा

पोखरा स्पोर्टस । हाङझाव एसियाडको ई–स्पोर्टसको एलिटको रुपमा रहेको पब्जी मोबाइलमा नेपाली खेलाडीले शुक्रबार सुखद नतिजा निकालेका छन् । एलिमिनेसन राउन्डको समूह ‘सी’ मा नेपाली टोली उपविजेता हुँदै सेमिफाइनलमा पुगेको छ ।

जारी एसियाडमा अहिलेसम्म पब्जी मात्र अन्तिम चारमा पुग्ने पहिलो नेपाली टोली हो । नेपालले सहभागिता जनाएको खेलमा हालसम्मको उपलिब्ध भनेको नेपालले क्वाटरफाइनलसम्मको यात्रा तय गर्नु हो । पब्लीले नेपाललाई पदकको आशा दिलाएको छ ।

पब्जीको अन्तिम चारमा पुगेका सुबिनकुमार प्रजापति, दिपेश गुरुङ, साहस भण्डारी, समिर गुरुङ र संगिन भट्टराईले आफ्नो समूहमा हङकङ, प्यालेस्टाइन र साउदी अरेबियासँग प्रतिस्पर्धा गरेका थिए । समूह ‘सी’ मा हङकङ शीर्ष स्थानमा रह्यो । नेपालले प्यालेस्टाइन र साउदीलाई पछि पार्दै अर्को चरण स्थान पक्का गरेको हो । प्रतियोतिगामा वरीयताका आधारमा प्यालेस्टाइनले सिधै क्वाटरफाइनलमा स्थान बनाएको थियो । तर प्यालेस्टाइन अन्तिम आठ भन्दा अगाडि बढन सकेन ।

नेपाली खेलाडीले आफ्नो समूहमा सवै चुनौती पार गर्दै अन्तिम चारको स्थान पक्का गरेको हो । समूह ‘डी’ मा तेस्रो भएको प्यालेस्टाइन र चौथो स्थानमा रहेको साउदी अरब बाहिरिएका छन् । अब नेपालले शनिबार सेमिफाइनल खेल्ने छ । सेमिफाइनलमा दोस्रो स्थान रक्षा गरे नेपाल फाइनलमा पुग्ने छ । फाइनलमा पुगे पनि नेपालको पदक निश्चित हुने छैन । स्वर्ण पदकको भिडन्तमा चार टोलीबीच प्रतिस्पर्धा हुने छ । जसमा शीर्ष तीन भित्र रहे मात्र पदक जित्ने छ । यस कारण नेपालले पदक सुरक्षित गर्न कम्तीमा तेस्रो स्थान प्राप्त गर्नुपर्ने हुन्छ ।

प्रतियोगिताको शुक्रबार समूह ‘ए’ बाट दक्षिण कोरिया र थाइल्यान्ड अन्तिम चारमा पुगेका छन् । समूह ‘बी’ बाट आयोजक चीन र चाइनिज ताइपेईले अन्तिम चार स्थान पक्का गरे । समूह ‘डी’ बाट जापान र इन्डोनेसिया सेमिफाइनलमा पुगेका छन् ।

नेपालको समूहबाट नेपाल र हङकङ सेमिफाइनलमा पुगेका हुन् । अब चार समूहबाट आएका शीर्ष दुई–दुई गरी आठ टोलीलाई दुई समूहमा सेमिफाइनल खेलाइने छ । सेमिफाइनलका दुवै समूहमा चार–चार टोली हुनेछन् । समूहका शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् ।
सेमिफाइनलमा दुवै समूहको खेल शनिबार हुनेछ । यद्यपि समूह विभाजन भने भइसकेको   छैन ।

सेमिफाइनलमा शीर्ष दुई स्थान हासिल गरे नेपाल फाइनल पुग्दै पदक नजिक पुग्ने   छ । नेपाली टोलीका कप्तान सुविन महर्जनले वरीयता पाएको राष्ट्रलाई हराउँदै अगाडि बढ्दा निकै खुसी लागेको बताए । उनले आफ्नो समूहका सवै सहभागी टोली बलियो भएको बताए । ‘हाम्रो टोलीमा सहभागी सवै राम्रा थिए, हामीले वरीयता प्राप्त प्यालेस्टाइनलाई पछि पार्न सफल भयौँ,’ उनले भने, ‘अर्को चरणमा निकै कठिन प्रतिद्वन्द्वी छन् ।’

पौडी 
पौडीमा शुक्रबार नेपालका नासिर याहा हुसेन हिट चरणबाटै बाहिरिएका छन् । हान्झाउ ओलम्पिक स्पोर्ट्स सेन्टर अक्वाटिक एरेनामा पुरुष चार सय मिटर फ्रिस्टाइलको हिट–२ मा उनले निर्धारित दूरी चार मिनेट २२.०२ सेकेण्डमा पूरा गरे । उनी आफ्नो हिटमा चौथो भएका थिए । उनी २५ मध्ये २२औं स्थानमा रहे ।

नासिरको इभेन्ट्ससँगै १९औं एसियाडमा नेपाली खेलाडीको चुनौती समाप्त भएको छ । पौडीमा नेपालबाट चार खेलाडीले आठ इभेन्टमा प्रतिस्पर्धा गरेका थिए ।

महिला बास्केटबल 


महिला थ्री बाई थ्री बास्केटबलमा नेपाल समूह चरणको सबै खेलमा पराजित भएको छ । जिओग्राफिक इन्फर्मेसन पार्क बास्केटबल कोर्टमा समूह ‘बी’ को अन्तिम खेलमा नेपाल चाइनिज ताइपेईसँग  २२–२ को फराकिलोअन्तरले पराजित भयो ।

नेपालले प्रतियोगितामा सबैभन्दा कम स्कोर यही खेलमा ग¥यो । नेपालका लागि कप्तान श्रेया खड्का र मिना गुरुङले समान एक स्कोर गरे । यसअघि नै जापान र कजाखस्तानसँग पराजित भएको नेपाल लगातार तेस्रो हारसंगै प्रतियोगिताबाट बाहिरिएको छ । नेपाल पहिलो खेलमा जापानसँग २२–४ तथा दोस्रो खेलमा कजाखस्तानसँग नेपाल १७–१० ले पराजित भएको   थियो ।

ब्याडमिन्टन 
ब्याडमिन्टनको पुरुष टिम इभेन्टबाट नेपाल पराजित भएको छ । प्रतियोगिताको शुक्रबार जिम्न्याजिम हलमा भएको क्वार्टफाइनल खेलमा नेपाल भारतसँग ३–० ले पराजित भयो । नेपालका प्रिन्स दाहाल भारतका लक्ष्य सेनसँग २१–५ र २१–८ ले पराजित भए ।
अर्को खेलमा भारतका श्रीनाथ नमाल्वरले नेपालका सुनील जोशीलाई २१–४ र २१–१३ ले पछि पारे । अर्को खेलमा विष्णु कटवाल भारतका मिथुनबाट २१–२ र २१–७ ले हारे ।

गल्फ 
गल्फमा पार ७२ को वेस्ट लेक इन्टरनेशनल गल्फ कोर्समा भएको पुरुष ब्यक्तिगत स्पर्धामा शुक्रबहादुर राई बाहेक अन्य खेलाडीले अघिल्लो चरणमा स्थान बनाएनन् ।

दोस्रो दिन शुक्रबार तीन अन्डर ६९ खेलेका शुक्रको ३६ होलमा पाँच अन्डर एक सय ३९ स्कोर छ ।

पहिलो दिन शुक्रले दुई अन्डर ७० को स्कोर कार्ड राखेका थिए । उनी समग्रमा २९औं स्थानमा रहँदै फाइनल चरणमा प्रवेश गरेका छन् ।
नेपालले पदकको आशा गरेका सद्भाव आचार्य र सुवास तामाङको प्रदर्शन भने सोचेजस्तो भएन । समग्रमा इभनपार एक सय ४४ खेलेका सुवास र दुई ओभर एक सय ४६ खेलेका सद्भाव ब्यक्तिगत स्पर्धाबाट बाहिरिएका छन् । अर्का सहभागी युवराज भुजेल समग्रमा ११ ओभर एक सय ५५ खेल्दै बाहिरिए ।

नेपाल एसियाड गल्फको पुरुष र महिला टिम स्पर्धाबाट पनि बाहिरिएको छ । महिलातर्फ टिम स्पर्धामा नेपालकी सुस्मा सिग्देल र कस्मिरा शाहले ३६ होलमा समग्रमा ६६ ओभर तीन सय ५४ स्कोर खेले ।

दोस्रो दिन शुक्रबार कस्मिराले ११ ओभर ८३ र सुस्माले १६ ओभर ८८ खेलेके थिइन् । नेपाल महिला टिम स्पर्धामा १३ औं भयो । १४ टोली सहभागी टिम इभेन्टमा नेपालले मंगोलियालाई पछि पा¥यो । एसियाड गल्फको पुरुषतर्फ हङकङका कहो ताईची कूल २२ अन्डर एक सय २२ स्कोरका साथ शीर्ष स्थानमा छन् ।

एथ्लेटिक्स 


एसियाली खेलकुदको महत्वपूर्ण खेल मध्ये एक एथलेटिक्समा शुक्रबार एसियाडको मुख्य रंगशालामा नेपालका सोमबहादुर कुमाल र महिलामा सन्तोषी श्रेष्ठले प्रतिस्पर्धा गरेका थिए । कुमालले ४ सय मिटर दौड ४८.६८ सेकेन्डमा पूरा गरे । सहभागी सात मध्ये उनी पाँचौ  भए । उनले दक्षिण कोरिया र कीर्गिस्तानका धावकलाई पछि पारे ।

कुमालले एसियाडको तयारी प्रशिक्षणका दौरान नै डेंगु लागेका कारण प्रदर्शन राम्रो नभएको प्रतिक्रिया दिएका छन् । ‘प्रतियोगिता अगाडि नै मलाई डेंगु लागेको थिए । यसले मेरो तयारी राम्रो भएन, कुमालले भने, ‘विरामी नपरेको भए, व्यक्तिगत नाममा रहेको रेकर्ड तोड्ने योजना थियो ।’

नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुदकी स्वर्ण विजेता सन्तोषी श्रेष्ठले दस हजार दौड ३८ मिनेट ४०ः१५ सेकेन्डमा सकाइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close