
पोखरा स्पोर्टस । पोखरामा यहि चैत २३ देखि २५ गते सम्म “२० औं नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप’ हुने भएको छ ।
पोखराको प्याराग्लाइडिङ व्यवसायीहरुको छाता संस्था नेपाल हवाई खेलकुद संस्था (ना)को आयोजना तथा नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघ र नेपाल प्याराग्लाइडिङ पाइलट क्लबको सहयोगमा उक्त प्रतियोगिताको तयारी सुरु गरिएको हो । तिन दिन सम्म हुने उक्त प्रतियोगितामा ‘एक्युरेसी’ तर्फ मात्रै प्रतिष्पर्धा हुने भएको नाले जनाएको छ ।
प्याराग्लाइडिङको एक्युरेसी विद्यातर्फ विभिन्न चार वटा इभेन्टमा महिला तथा पुरुष खेलाडीले सहभागिता जनाउने छन् । त्यसै गरी प्रतिष्पर्धा अन्तर्गत ल्याण्डिङ् ओभरअलको प्रथम, द्वितिय, तृतिय र सान्त्वना तर्फ हुने खेलाडीले क्रमश नगद रु ५०, ३०, २० र १० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । महिलातर्फ भने सो विद्या अन्तर्गत प्रथम, द्वितिय, तृतिय र सान्त्वना तर्फ हुने खेलाडीले क्रमश नगद रु ३०, २०, १० र ५ हजार प्राप्त गर्नेछन् ।
त्यसै गरी अन्य विद्यातर्फको एक्युरेसी टेन्डम पुरुष अन्तर्गत प्रथम, द्वितिय, तृतिय र सान्त्वना तर्फ हुने खेलाडीले क्रमश नगद रु ३०, २०, १० र ५ हजार प्राप्त गर्नेछन् भने एयर शो तर्फ वेष्ट एक्रोबेटिक शोतर्फ प्रथम हुनेले नगद १५ हजार, दोश्रोले नगद १० हजार र तेश्रो हुनेले नगद ५ हजारका साथमा मेडल र प्रमाणपत्र गर्नेछन् । त्यसै गरी वेष्ट कस्टुयुमतर्फ समेत पुरस्कार प्रदान गरिने छ । उक्त प्रतियोगितामा वेष्ट कस्टुयुमतर्फ नगद १० हजार प्रदान गरिनेछ ।
विश्व महामारीको रुपमा फैलिएको कोभिड १९ का कारण दुई वर्ष देखि स्थगित उक्त प्रतियोगिता यो वर्ष सञ्चालन हुन लागेको हो । प्रतियोगिता लाई नेपाल पर्यटन वोर्डले प्रवर्द्धन गर्ने भएको छ ।

