
पोखरा स्पोर्टस । गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले समाज रुपान्तरणमा खेलकुदको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।
नेपाली कांग्रेस निकट लोकतान्त्रिक खेलकुद संघ कास्कीले आयोजना गरेको पोखरा महानगरपालिका कमिटी गठन कार्यक्रमलाई उदघाटन गर्दै उनले देशको भविष्य अब युवाहरुको काँधमा रहेको उल्लेख गरे । ‘देशको भविष्य अब युवाहरुको काँधमा छ’, उनले भने, ‘तपाईहरुको भविष्यसँग नै देशको भविष्य जोडिएको छ ।’ मन्त्री थापाले शारिरिक एवम् मानसिक स्वस्थताका लागि खेलकुद अपरिहार्य रहेको उल्लेख गरे । खेलाडी देश परिवर्तनका सम्बाहक हुन भन्दै उनले खेलकुदका क्षेत्रमा सम्भावना समेत बढ्दै गएको बताए । गण्डकी सरकारले पनि खेललाई महत्वपूर्ण विषयको रुपमा हेरेको भनाई उनको भनाई थियो । मन्त्री थापाले गण्डकी विश्वविद्यालय गठन गरेको र विश्वविद्यालयमा खेलकुदका विषयमा समेत पढाई हुने जानकारी दिए ।
खेलमैदान निर्माण देखि खेलाडीलाई प्रोेत्साहन गर्ने सम्मका क्रियाकलापमा गण्डकी सरकार प्रतिबद्ध रहेको उनले बताए । उनले सुदृढ काँग्रेस निर्माणका लागि भातृसंगठनले खेल्ने भूमिका महत्वपूर्ण हुने बताए । ‘काँग्रेसलाई बलियो र सुदृढ बनाउने विषयमा भातृसंगठनहरुको भूमिका समेत प्रभावकारी रहन्छ’, उनले भने, ‘तीनै तहको निर्वाचन आउँदैछ,आफ्नो सक्रियता बढाई काँग्रेसलाई जिताउने अभियानमा लागौं ।’
नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बरालले खेलाडी परिवर्तनका सम्बाहक भएको बताउँदै देश निर्माणको चित्र कोर्ने शक्ति युवामा रहेको उल्लेख गरे । उनले नेता कर्मका कारण हुने र समाजलाई फरक तरिकाबाट सोच्नुपर्ने आवश्यकता आजको भएको बताए ।
कास्की काँग्रेसका पूर्वसभापति कृष्ण केसीले लोकतान्त्रिक खेलकुद संघ खेलकुदको मात्र संस्था नभई राजनीतिक तवरले समेत जोडिएको संस्था भएको बताए ।
नेपाल लोकतान्त्रिक खेलकुद संघ केन्द्रका सभापति देवेन्द्र शेरचन लोकतान्त्रिक खेलकुद संघका खेलाडीहरुलाई व्यवस्थापन गर्न नसक्दा विचलित हुने अवस्थाको सिर्जना हुँदै गएको बताए ।
लोकतान्त्रिक खेलकुद संघ कास्कीका अध्यक्ष नविन पुनको अध्यक्षतामा भएको कार्यक्रममा उपसभापती मिलन गुरुङले समेत आफ्ना भनाई राखेका थिए ।
सम्पन्न भेलाले संजय कुमार अधिकारीको नेतृत्वमा लोकतान्त्रिक खेलकुद महासंघ पोखरा महानगर समितीको नयाँ कार्यसमिति गठन गरेको छ ।
