‘खेलाडी कुनै जात र देशको हुँदैन’– मुख्यमन्त्री नेपाली

पोखरा स्पोर्टस । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले खेलाडी कुनै देशको नहुने बताएका छन् ।

गण्डकी प्रदेश आइटिएफ तेक्वान्दोको दुई दिने सेमीनारको समापन कार्यक्रममा उनले उक्त कुरा बताएका हुन् । उनले गण्डकीको प्रदेशको समृद्धिको आधारहरु धेरै भए पनि त्यो भित्रको महत्वपूर्ण पाटो भनेको खेलकुद भएको बताए । उनले भने–“२१ औं शताव्दीको खेलाडीलाई विश्व खेलकुदको जगमा सम्मानित रुपमा उभ्याउन प्रदेश सरकारले गम्भिर रुपमा अघि बढेको छ ।”

प्रदेश सरकारले सोचे जस्तै गरी खेलकुदलाई अघि बढउन नसकेको भए पनि त्यसको जगलाई बलियो बनाउन लागेको मुख्यमन्त्री नेपालीले उल्लेख गरे । उनले संविधानले खेलाडीको हक र अधिकारलाई स्थापित गरेको बताउँदै खेलमार्फत मुलुकलाई अन्तर्राष्ट्रिय जगतमा पहिचान बनाउने मात्रै नभई समानताका लागि समेत खेलकुद अपरिहार्य रहेको बताउँदै भने–“खेलाडीको कुनै जात र देश हुँदैन । एक जना खेलाडीका लागि कुनै पनि देशको सिमाले रोक्न सक्दैन ।”

गण्डकी प्रदेश नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि तयार रहेको जनाउँदै मुख्यमन्त्री नेपालीले अन्य आवश्यक पूर्वाधारहरुको निर्माणका लागि समेत छिट्टै पहल गर्ने बताए ।

उक्त समापन कार्यक्रममा आफ्ना भनाई राख्दै नेपाल आइटिएफ तेक्वान्दो महासंघका केन्द्रिय सदस्य तथा पूर्व सांसद रामहरी खतिवडाले मुलुकको आर्थिक समृद्धिका लागि खेलकुदमा लगानी आवश्यक रहेको बताए । कोभिडका कारण खस्किंदो पर्यटनलाई माथी उठाउन र खेलकुदका अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजनालाई अघि बढाउनुपर्ने कुरामा उनले जोड दिए । उनले खेलकुदमा लगानी बढाउन र खेलाडीलाई सम्मान गर्न आग्रह गर्दै खेलकुद जगतलाई राज्यले सम्मानजनक रुपमा अघि बढाउनु पर्ने कुरा औंल्याए ।

सो अवसरमा नेपाल आइटिएफ तेक्वान्दो महासंघका केन्द्रिय अध्यक्ष अन्जन धमलाले मुलुकको खेलकुद विकासमा आइटिएफ तेक्वान्दोको भुमिका महत्वपूर्ण रहेकोले राज्यले सहयोगको वातावरण बनाउन आग्रह गरे ।

नेपाल आइटिए तेक्वान्दो संघ गण्डकीका अध्यक्ष घम बहादुर थापाको अध्यक्षतामा भएको समापन कार्यक्रममा संघका सचिव प्रतिक घर्ती मगरले समेत आफ्ना भनाई राखेका थिए । दुई दिन सम्म भएको सेमिनारमा गण्डकी प्रदेशका पाँच जिल्लाका करिव २ सय जना खेलाडीहरुले डान १, डान २ र डान ३ को सेमीनारमा सहभागिता जनाएका थिए । समापन कार्यक्रममा खेलाडीहरुले विभिन्न खेल कौशल समेत प्रदर्शन गरेका थिए ।

मुख्यमन्त्रीद्वारा निर्माणाधिन प्रदेश खेलकुद कार्यालयको अवलोकन


मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले पोखरा रंगशालामा प्रदेश खेलकुद परिषद गण्डकीको निर्माणाधिन कार्यालयको अवलोकन गरेका छन् । प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव तेज बहादुर गुरुङले निर्माण बारे जानकारी गराउँदै निर्माण सम्पन्न गर्न अपुग रकमका लागि प्रदेश सरकारले सहयोग गर्न आग्रह गरे । सो अवसरमा मुख्यमन्त्री नेपालीले निर्माण सम्पन्न गर्न आफूले सहयोग गर्ने प्रतिवद्धता जनाएको सदस्य सचिव गुरुङले जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close