
पोखरा स्पोर्टस । गण्डकी प्रदेश तेक्वान्दो संघ (आइटिएफ)को अध्यक्ष घम बहादुर थापा निर्विरोध निर्वाचित भएका छन् ।







संघको सोमबार पोखरामा सम्पन्न प्रथम अधिवेशनले उनलाई आगामी तिन वर्षका लागि अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । त्यसै गरी समितीको उपाध्यक्षमा अन्क घर्ती मगर, सचिबमा प्रतिक घर्ती मगर र कोषाध्यक्षमा विरबल कुवर निर्विरोध निर्वाचित भएका छन् ।
उक्त समितीको सदस्यमा विशाल बुढा मगर, बसन्ती बुढा, फारम महत, शर्मिला महत, उत्तम गुरुङ र विक्रम सुनार निर्वाचत भएको संघले जनाएको छ ।
संघले पोखरामा अधिवेशन संगै राष्ट्रिय सेमीनारको समेत आयोजना गरेको थियो । उक्त सेमीनारमा सात जिल्लाका सिनियर र जुनियर खेलाडी गरी करिव दुई सय खेलाडीको सहभागिता रहेको थियो । आइटिएफ तेक्वान्दोको गण्डकी प्रदेशका सात जिल्लाहरुमा संघहरु गठन भइसकेका छन् ।
खेलकुद जिवनको मुख्य आधार–सदस्य सचिव गुरुङ
यस अघि अधिवेशन तथा आइटिएफ तेक्वान्दोको राष्ट्रिय सेमीनारको उद्घाटन गर्दै प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिब तेज बहादुर गुरुङले खेलकुद जिवनको मुख्य आधार रहेको बताए । उनले भने–“हामी जस्तो गरिव मुलुककाहरु खेलकुदमा आउनु भनेको महत्वपूर्ण विषय हो । धेरैको आमा वुवा परिवार पनि खेलकुद भने पछि खुसी छैनन् नत विद्यालय नै । त्यसैले पनि जसले खेल्ने अवसर पाएको छ उसले समाजमा अलग छाप छोड्नु पर्छ । अध्ययनमा अव्वल बन्नु पर्छ र लगनशिल हुनुपर्छ ।”
खेलकुदले समाजमा असल नागरिक बन्न प्रेरित गरेको बताउँदै आफूले सिकेको शिप समाजलाई बाँड्नु पर्ने सदस्य सचिव गुरुङले बताए । प्रदेश खेलकुदले खेलकुदलाई विज्ञानको रुपमा वुझेको प्रशिक्षक उत्पादन गर्न आफ्ना कार्यक्रम अघि सारेको उल्लेख गर्दै उनले भने–“पाखुराको भरमा खेलकुद अघि बढ्न सक्दैन । खेलकुद विज्ञान हो । खेलकुद बाट अवसर छ भन्ने कुरालाई हामी स्थापित गर्न चाहन्छौं ।”
सदस्य सचिव गुरुङले नवौं राष्ट्रिय खेलकुद आयोजनाका लागि संघिय सरकार अघि बढेमा आयोजक प्रदेशका रुपमा गण्डकी प्रदेश तयार रहेको बताए ।
उक्त कार्यक्रममा आफ्ना भनाई राख्दै नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (आइटिएफ)का केन्द्रिय अध्यक्ष अन्जन धमलाले सिमित स्रोतका बाबजुद समेत आइटिएफ तेक्वान्दोले नेपाली खेलकुदमा उत्कृष्ट छाप छोड्न सफल भएको बताए ।
