
पोखरा स्पोर्टस । अमृत गुरुङको अलराण्डर प्रदर्शनमा राईजिङ क्रिकेट क्लबले शनिबारीय टी–२० क्रिकेट लिग अन्तर्गत तेस्रो जित निकाल्ने क्रममा कास्की क्रिकेट क्लबलाई ४२ रनले पराजित गरेको छ ।
वाईनकिङ टी–२० कास्की जिल्ला क्लबस्तरीय च्याम्पियनसिप अन्तर्गत शनिबार पोखरा रंगशालामा भएको प्रतिस्पर्धामा राईजिङका कप्तान अमृत गुरुङले प्लेयर अफ दि म्याच प्रदर्शन गरेपछि सहज जितसँगै लिगको शीर्षस्थानमा रहेको छ । उनले १८ बलमा १ चौका र ४ छक्का हान्दै ३४ रनको अविजित पारी खेलेपछि राईजिङले १४८ रनको योगफल तयार पार्यो ।
टस जित्दै राईजिङका ओपनर सागर लामिछानेले ३६बल खेल्ने क्रममा २५ रन बनाए । उनले दोस्रो विकेटको लागि किरण पौडेलसँग ३४ रनको साझेदारी निभाए । किरण पौडेलले पनि १९ रनको योगदान दिदाँ कृष्ण पौडेल भने ८ बलमा १६रन बनाउँदै २ चौका प्रहार गरे । सिब्रिन श्रेष्ठले ३ ओभर बलिङ गर्ने क्रममा २ विकेट लिदाँ विष्णुप्रसाद शर्मा, विश्वास पराजुलीले १–१ विकेट लिए ।
अमृत गुरुङले ४–०–१५–२ को बलिङ स्पेल गरेपछि १४९ रनको लक्ष्य पछ्याएको कास्की क्रिकेट क्लब १०६ रनमै समेटियो । सबै विकेट गुमाएको कास्कीलाई व्याटिङ ध्वस्त बनाउने क्रममा फाष्ट बलर कृष्ण पौडेलले ४–०–२५–२ को प्रदर्शन गरे । कास्कीका कप्तान विष्णुप्रसाद शर्माले ३६बलमा सर्वाधिक ४५ रनको योगदान गरेपनि जितको हकदार बनाउन सकेनन् । उनले ४ चौका र ३ छक्का हिर्काउँदै अर्धशतक नजिक पुुगे । तर जितसम्म दोर्हायाउन भने असमर्थ देखिए । आयुष सैंजुले १३ बलमा १३ रन हिर्काए । विश्वास पराजुलीले भने २१ बल खेल्दै १२ रन बनाए ।
यसैगरी दोस्रो खेलमा पोखरा क्रिकेट क्लबले माछापुच्छ्रे क्रिकेट क्लबलाई १४ रनले पराजित गरेको छ । टस जितेर व्याटिङ गरेको पोखरा क्रिकेट क्लब ९ विकेटको क्षतिमा ९० रनको योगफल तयार पार्ने क्रममा अनिल गुरुङले सर्वाधिक २६रनको योगदान दिए । उनले ४२ बल खेले ।
मुुश्कान थापाले २२ बल खेल्दै १३ रन जोड्दा विकास अधिकारीले १६बलमा १३ रन बनाए । ऋतिक थापा मगरले ४ ओभरमा २१ रन दिएर ३ विकेट लिए । सुवास बास्तोला र दिपेश खत्रीले समान २÷२ विकेट आफनो नाममा लेखाए । ९१ रनको लक्ष्य पछ्याएको माछापुच्छ्रे क्रिकेट क्लब भने ७६ रनमा समेटिन पुुग्यो । ऋतिक थापा मगरले २२ रन र पुजन पौडेलले १८ रन बाहेक अन्य व्याटरको दोहोरो अंक स्कोर बनाउन सकेनन् । बलिङ तर्फ प्लेयर अफ दि म्याच पोखरा क्रिकेट क्लबका अनिल गुरुङले २ विकेट लिए ।
