
पोखरा स्पोर्टस । बाँके जिल्ला भलिबल संघको आयोजनामा यहि चैत १० देखि १४ गते सम्म नेपालगञ्जमा हुने आठौं संस्करणको प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगितालाई पाँचतारे होटल सेन्ट्रल प्लाजाले साथ दिने भएको छ ।
सो सम्वन्धि सम्झौतामा सेन्ट्रल प्लाजाका महाप्रबन्धक समिर भी कुमार र बाँके जिल्ला भलिबल संघ बाँकेका अध्यक्ष टीएस ठकुरीले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार प्रतियोगितामा सहभागी हुने टोलीका खेलाडी तथा अफिसियलका लागि आवास तथा भोजनको व्यवस्थापन सेन्ट्रल प्लाजाले गर्ने भएको अध्यक्ष ठकुरीले जानकारी दिएका छन् ।
सम्झौता पछि आफ्ना भनाई राख्दै होटलका महाप्रवन्धक कुमारले भने–‘प्रधानमन्त्री कप जस्तो प्रतिष्ठित प्रतियोगितासँग सहकार्य गर्न पाउँदा हामी अत्यन्त खुशी छौं ।’ ‘खेलपर्यटन पनि समग्र पर्यटनको विकास एवं आर्थिक समृद्धिको आधार भएको हुँदा प्रधानमन्त्री कपसँग सहकार्य गरेका हौं’, उनले भने ।
राष्ट्रिय स्तरका खेलाडीहरुको सम्मान स्वरुप स्तरीय हस्पिटालिटीमा जोड दिएको प्रधानमन्त्री कपका चिफ अपरेटिङ अफिसर सौगात विक्रम शाहले बताए । नीजि क्षेत्रको सहभागिता बिना स्तरीय प्रतियोगिताको निरन्तरतामा कठिनाई हुने भएको हुँदा आयोजकले नीजि क्षेत्रलाई बिशेष जोड दिने गरेको उनको भनाई थियो । नेपालकै छैटौं पुरानो सहर नेपालगन्ज र उदाउँदो सहर कोहलपुरलाई जोड्न पनि होटलले यो पाइला चालेका बताउँदै खेलाडीको बसोबास तथा नेपालगन्जमा खेल सञ्चालन हुँदा दुवैं सहरको आर्थिक पक्ष चलायमान हुने अपेक्षा गरेको उनले बताए ।
नेपाल भलिबल संघको स्वीकृतिमा हुने प्रधानमन्त्री कप भलिबल नेपालगन्ज रंगशालाको कभर्ड हलमा हुनेछ । प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगितालाई नेपालगञ्जको चिनारीको रुपमा विकास गर्नका लागि संघले प्रतियोगितालाई दक्षिण एसियाकै नम्बर एक क्लब च्याम्पियनसिपका रुपमा स्थापित गराउने लक्ष्य राखेको अध्यक्ष ठकुरीले बताए । प्रतियोगितामा देशका चर्चित क्लबहरुसँग मित्र राष्ट्र भारतका क्लबलाई पनि सहभागी गराउने प्रयास भइरहेको उनले बताए ।
प्रधानमन्त्री कपको पहिलो संस्करणमा नेपाल पुलिस क्लब, दोस्रोमा एपीएफ, तेस्रो र चौथोमा रेलवे टिम कोलकाता इण्डिया, पाँचौमा एपीएफ, छैठौमा पुलिस र सातौंमा एपीएफ च्याम्पियन बनेको थियो ।
सम्झौता कार्यक्रममा सेन्ट्रल प्लाजाका बजार व्यवस्थापक रमेश पाठक र क्रिएटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टका चिफ अपरेर्टिङ अफिसर सौगात विक्रम शाहको उपस्थिति थियो ।


