
पोखरा स्पोर्टस । पोखरामा पहिलो पटक आयोजना हुने ‘सातौं राष्ट्रिय इन्डोर आर्चरी प्रतियोगिता २०८२’को सम्पूर्ण तयारी पुरा भएको छ ।
यहि जेठ २३ र २४ गते पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा आयोजना हुने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको गण्डकी प्रदेश आर्चरी संघका वरिष्ठ उपाध्यक्ष तथा प्रतियोगिता संयोजक योगेन्द्र शेरचनले जानकारी दिएका छन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) र प्रदेश खेलकुद परिषद् गण्डकीको सहयोग, गण्डकी प्रदेश आर्चरी संघको आयोजना तथा नेपाल आर्चरी संघको प्राविधिक सहयोगमा प्रतियोगिता हुने भएको हो । प्रतियोगितामा तीन विभागीय टोली, कोशी प्रदेश, बागमती र गण्डकी प्रदेशका दुई टिम गरी कुल ७० जना खेलाडीहरूको सहभागिता रहको छ । जसमा महिला खेलाडीहरुको संख्या २२ र पुरूषहरुको संख्या ४८ जना रहेका छन् ।
प्रतियोगितामा रिकर्व महिला/पुरुष, रिकर्व टिम इभेन्ट, रिकर्व मिक्स इभेन्ट, कम्पाउण्ड महिला/पुरुष इन्डिभिजुअल, स्टाण्डर्ड महिला/पुरुष इन्डिभिजुअल, स्टाण्डर्ड मेन्स टिम इभेन्ट र मिक्स इभेन्ट गरी कुल १० इभेन्टमा १० स्वर्ण, १० रजत र १० काश्य पदकका लागि प्रतिस्पर्धा हुने केन्द्रिय सचिब समेत रहेका शेरचनले पोखरा स्पोर्टसलाई जानकारी दिए ।
प्रतियोगिता आयोजना भए संगै गण्डकी प्रदेशको राजधानी पोखरामा इन्डोर आर्चरीको सम्भावनाको ढोका खोल्ने अपेक्षा गरिएको छ । आयोजकका अनुसार सम्पूर्ण खेल वर्ल्ड आर्चरीको नियमअनुसार सञ्चालन गरिनेछ। प्रतियोगिताका लागि करिब १० लाख रुपैयाँको खर्च अनुमान गरिएको छ।
यो प्रतियोगिता इन्डोर आर्चरी खेललाई गण्डकी प्रदेशमा थप विस्तार र लोकप्रिय बनाउन महत्वपूर्ण ठानिएको छ । सो प्रतियोगिताका लागि सहभागि खेलाडीहरु पोखरा आइपुगेका छन् भने २३ गते राखेपका सदस्य सचिब टंकलाल घिसिङले उद्घाटन गर्ने तय भएको आयोजकले जनाएको छ ।


