
पोखरा स्पोर्टस । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा सम्पन्न राष्ट्रियस्तरको प्रथम गैँडाकोट मेयर कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि नवलपुर क्रिकेट सङ्घले जितेको छ ।
बुधबार सम्पन्न फाइनल खेलमा नवलपुरले स्याङ्जालाई ५ विकेटले पराजित गर्दै उपाधि आफ्नो पोल्टामा पार्न सफल भएको हो । नवलपुरले उपाधिसँगै नगद रु दुई लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । प्रतियोगिताको उपविजेतामा चित्त बुझाउन बाध्य स्याङ्जा क्रिकेट सङ्घले नगद रु एक लाख ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ ।
टस जितेर ब्याटिङ रोजेको स्याङ्जाले १७।१ ओभरमा सबै विकेटको क्षतिमा ८३ रनको योगफल तयार पारेको थियो । स्याङ्जाका लागि ईश्वर खनालले १३ बलमा दुई चौका र एक छक्कासहित १८ रन तथा ईश्वर क्षेत्रीले २२ बलमा एक चौकासहित ११ रनको साझेदारी गरेका थिए । स्याङ्जाका अन्य ब्याट्सम्यानले दोहोरो अङ्क जोड्न सकेनन् ।
बलिङतर्फ नवलपुरका किशोर महतोले तीन ओभरमा ८ रन खर्चिदै दुई विकेट, सुदीप अर्यालले चार ओभरमा १४ रन खर्चिदै दुई विकेट तथा विशाल पौडेलले चार ओभरमा २० विकेटको क्षतिमा दुई विकेट लिए । ८४ रनको विजय लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको नवलपुरले १४.२ ओभरमा विजय लक्ष्य भेट्टायो । नवलपुरले १४.२ ओभर खेल्दै पाँच विकेटको क्षतिमा ८४ रन बनाउन सफल भएपछि उपाधि उचाल्न सफल भएको हो । नवलपुरका लागि कमल परियारले ‘नटआउट’ चार बलमा तीन छक्का सहित १९ रनको योगदान दिए ।
त्यस्तै नवलपुरको जितका लागि ब्याट्स म्यान राजेश ढकालले ३१ बलमा २४ रन, गोविन्द विकले १८ बलमा १२ रन, विदुर पुनले १४ बलमा १० रन तथा दीपक डुम्रेले १७ बलमा १० रनको योगदान दिए। बलिङतर्फ स्याङ्जाका सुरज गुरुङले तीन ओभरमा २४ रन खर्चदै दुई विकेट तथा करण पङ्गेनी, ईश्वर खनाल र विपिनराज न्यौपानेले समान १–१ विकेट लिए ।
नवजागरण ग्रामीण विकास केन्द्र गैँडाकोटको आयोजनामा सम्पन्न प्रतियोगितामा नवलपुर, स्याङ्जा, चितवन, तनहुँ, कास्की, पर्वत, बागलुङ, नवलपरासीका आठ टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको विजेतालाई गैँडाकोटका नगरप्रमुख छत्रराज पौडेलले नगदसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए । कार्यक्रममा नगरप्रमुख पौडेलले खेलक्षेत्रको विकासका लागि आफूले नगरपालिकाको तर्फबाट सक्दो सहयोग गर्ने बताए ।
