‘ओलम्पिक डे’ लाई ऐतिहासिक बनाउने तयारी, ‘जन–जनमा खेलकुद अभियान’–अध्यक्ष श्रेष्ठ, स्पोर्टस फर अल कमिसन

पोखरा स्पोर्टस । ओलम्पिक डे  २०२२ लाई देशव्यापी बनाउन नेपाल ओलम्पिक कमिटी अन्तर्गत गठित स्पोर्टस फर अल कमिसनले अभियान सुरु गरेको छ ।

आगामी जुन २३ का दिन ओलम्पिक डे मनाउने सन्दर्भमा पोखरामा आयोजित एक कार्यक्रममा उक्त कुराको जानकारी दिइएको हो । सो अवसरमा बोल्दै नेपाल ओलम्पिक कमिटी अन्तर्गत गठित स्पोर्टस फर अल कमिसनका अध्यक्ष विष्णु गोपाल श्रेष्ठले खेलकुदको महत्वलाई जनसमुदाय सम्म पुर्‍याउनु पर्ने कुरामा जोड दिएका छन् । उनले भने–“स्वस्थ्य, अनुशासित र मर्यादित नागरिक उत्पादनमा खेलकुदको भुमिका अपरिहार्य रहेकोले समाजको हरेक अङ्गलाई समाहित गर्न आवश्यक छ,  हामी ओलम्पिक डे  मार्फत खेलकुदको महत्व स्थापित गर्न  जन–जनलाई यो अभियानमा जोड्न  चाहन्छौं ।”

गण्डकी प्रदेश खेलकुदको उर्वरा भुमी रहेको र यहाँबाट देशले गर्व गर्ने लायक खेलाडीहरु उत्पादन भइसकेको बताउँदै अध्यक्ष श्रेष्ठले समाजमा रहेको विखण्डनलाई समाप्त गरी एक सुत्रमा वाँध्ने मात्रै नभई खेलकुद जिवनको मुल आधार रहेकोले व्यवहारमा परिणत गर्न उनले आग्रह गरे । “समाजको विकासक्रम संगै आफू संग भएको शिप र ज्ञान वाँड्यौ भने मात्रै जिवन बाँचेको आधार प्राप्त हुन्छ र मानव समाजले चाहेको कुरा प्राप्त गर्न सक्छ”, उनले भने ।

समाजमा हुने हिंसाको अन्त्य संगै आपसी सदभाव बढाउन अपरिहार्य रहेको तथ्य अघि सार्दै अध्यक्ष श्रेष्ठले तिन करोड नेपालीलाई खेलकुद अभियानमा जोड्न कमिसनले आफ्ना कार्यक्रम तय गरेको बताए । उनले जुन २३ का दिनलाई भब्य बनाउन सातै प्रदेशका ७७ जिल्लामा २ हजार ५ सय विभिन्न कार्यक्रम तय गरिएको जानकारी दिंदै उक्त कार्यक्रममा १ लाख ९० हजार जनाको प्रत्यक्ष सहभागिता हुने जनाए । उनले ति कार्यक्रमहरुमा तिन वर्ष उमेर देखि वृद्ध–वृद्धाहरु सम्म सहभागिता हुने जानकारी दिए ।

कार्यक्रममा आफ्ना भनाई राख्दै प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव तथा नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तेज गुरुङले विभिन्न समस्याका बाबजुद समेत खेलकुदले समाजमा खुसी र उत्साह भर्ने काम गरेको बताए । उनले ओलम्पिकको विभिन्न कालखण्डमा प्राप्त उपलव्धीको चर्चा गर्दै खेलकुद विकासका लागि राजनितिककर्मीहरुमा चेतना प्रवाह गर्न समाज नै अघि बढनुपर्ने उल्लेख गरे । सदस्य सचिव गुरुङले न्यून वजेटका कारण सोच अनुरुप खेलकुद विकास अघि बढ्न नसेकेको बताउँदै समाजमा खेलकुद संस्कृतीको स्थापना गर्न ओलम्पिक अभियानले भुमिका खेलेको बताए ।

सो अवसरमा गत वर्ष सम्पन्न ओलम्पिक डे कार्यक्रममा प्रदेशतर्फ गण्डकी प्रदेश र जिल्लातर्फ तनहुँ उत्कृष्ट रहेको घोषणा गर्दै सम्मान गरिएको थियो ।

नेपाल ओलम्पिक कमिटीको तत्वाधान तथा स्पोर्टस फर अल कमिसन गण्डकीको आयोजनामा भएको कार्यक्रम गण्डकीका अध्यक्ष खड्ग बहादुर रानाभाटको अध्यक्षतामा भएको थियो । कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी प्रदेश प्रमुखहरु, खेलकुद संघका पदाधिकारीहरु, खेलाडीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close