
पोखरा स्पोर्टस । दसौं शिरशुभा/गम्भीरसिंह गुरुङ स्मृति पुरुष भलिबल प्रतियोगिता सोमबारदेखि स्याङजाको सिरुवारीमा सुरु भएको छ ।
पहिलो दिन दरौ खोला युवा क्लब, आँधीखोला र राङ खोलाले विजयी सुरुआत गरे । दरौ खोलाले माझकटेरीलाई २२–२५, २५–२१ र २५–१७ को सेटमा पराजित गर्यो । आँधी खोलाले दरौ युवा क्लबलाई २५–१८ र २५–१७ को सोझो सेटमा हरायो । विजेताका अशोक विक ‘म्यान अफ द म्याच’ घोषित भए । राङ खोलाले सिरुवारीलाई सीधा सेटमा २५–२२ र २५–२२ ले पन्छायो । राङ खोलाका दर्शन गुरुङ ‘म्यान अफ द म्याच’ चुनिए ।
स्व. शिरशुभा र गम्भीरसिंह गुरुङका छोरा तथा परिवारका सदस्यहरुले आयोजना गरेको प्रतियोगिताको गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले एक कार्यक्रमबीच उद्घाटन गरेका थिए ।
सो अवसरमा कांगे्रस नेतृ सरस्वती गुरुङ, स्व। गम्भीरसिंह र शिरशुभा गुरुङका छोरात्रय पूर्व मेजर लीलबहादुर गुरुङ, देवबहादुर गुरुङ र पूर्व डिआईजी हिमबहादुर गुरुङलगायतको उपस्थिति थियो । सोही अवसरमा भ्याली पब्लिक स्कुलका प्रिन्सिपल कृष्णप्रसाद अधिकारीले सहभागी टोली र अफिसियलका लागि प्रायोजन गरेको जर्सी पनि हस्तान्तरण गरिएको थियो ।
शीर्ष तीन स्थान हात पार्ने टोलीले क्रमशः १ लाख, ५० हजार र २५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । फाइनल फागुन २७ गते हुने छ ।
