पोखरा स्पोर्ट्स । पोखरामा आइटिएफ वर्ल्ड टेनिस टुर जे ३० सर्किट १ र २ को तयारी सुरू भएको छ । कास्की जिल्ला टेनिस संघको आयोजनामा सो प्रतियोगिता आगामी मंसिर १५ देखि २९ गते सम्म सञ्चालन हुनेछ ।
सातौं सस्करण सफलताका साथ सम्पन्न भएको आइटिएफ वर्ल्ड टेनिस टुर जे३० को आठौं सस्करणमा सहभागिताका लागि आयोजक नेपालसहित भारत, अमेरिका, चिन, श्रीलंका मलेसियालगायत १५ भन्दा बढि देशका ३ सय जना भन्दा बढिले आफ्नो नाम दर्ता गराएको कास्की टेनिसका अध्यक्ष राज कुमार गुरूङ (राजु)ले जानकारी दिएका छन् । उनले भने–“यो उत्साहजनक छ । तर अन्तिम दर्ता मिति सम्म कति हुन्छन् त्यो एक साता पछि थाहा हुन्छ । सिमित प्लेइङ कोर्ट र मेन ड्र ३२ को भएकोले पनि सबैले सहभागिता जनाउन नपाउन सक्छन् ।”
जेन्जी आन्दोलनका कारण प्रतियोगिता स्थगित गर्ने भन्ने बारे कार्यसमितिमा निकै छलफल भएको बताउँदै उनले भने, “हामीले जेन्जी आन्दोलन पश्चात प्रतियोगिता सञ्चालनमा केही वाधा हुन्छ की भन्ने सोच बनाएका थियौं । तर कार्यसमितिले पहिले नै तय भएको यो कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको छ र हामीले तयारी समेत सुरू गरेका छौं ।”
पोखरामा निरन्तर संगै कोभिड १९ को महामारीमा समेत सफलता पूर्वक आयोजना भएको आइटिएफ वर्ल्ड टेनिस टुर जे३० १८ वर्ष मुनीका व्वाइज/गर्ल्सहरुको सहभागिता हुनेछ । “पोखरालाई खेलकुद पर्यटनको माध्यमबाट विश्वमा चिनाउन महत्वपूर्ण भूमिका खेलेको यो प्रतियोगिता मुलुकको बर्तमान अवस्थामा गर्न चुनौती छ,” निवर्तमान अध्यक्ष लोक बहादुुर गुरूङ भन्छन्, “तर जे जस्तो भए पनि हामी यो प्रतियोगिता सञ्चालन गछौंं । किनभने यो गौरवको प्रतियोगिता हो ।”
प्रतियोगितामा १३ वर्ष देखि १८ वर्ष उमेर समुहमा हुने प्रतिष्पर्धाका बिजेताले समान ३० अंक, उपबिजेताले १८ अंक, सेमि फाईनलिष्टले ९ अंक, क्वाटर फाइनालिष्टले ५ र आर–१६ ले २ अंक प्राप्त गर्नेछन् । त्यस्तै डबल्समा विजेताले २५ अंक उपविजेताले १३ अंक, सेमिफाइनालिष्टले ६ अंक, क्वाटर फाइनालिष्टले ३ अंक प्राप्त गर्नेछन् ।
प्रतियोगितामा पुरुष सिङ्गल्स तथा डबल्स ̸ महिला सिङ्गल्स तथा डबल्स गरि जम्मा ४ ईभेन्टमा प्रतियोगिता संचालन हुनेछन् । जसमा बिजेता तथा उप–विजेताले प्रमाण–पत्रसहित मेडल प्राप्त गर्नेछन् ।
आइटिएफ वर्ल्ड टेनिस टुर जे३० सर्किट १ र २ मा कुल १२८ जना खेलाडीको सहभागिता हुनेछ । प्रतियोगितामा वरियता तथा क्वालिफाइङ राउण्डका विजेता खेलाडीहरुले सहभागिता जनाउने प्रावधान रहेको कास्की टेनिसका उपाध्यक्ष नविन श्रेष्ठले पोखरा स्पोर्टसलाई बताए ।
