
पोखरा स्पोर्टस । कास्की माछापुच्छ्रे वडा नं ८ साखुस्थित फेरि भेटौंला युवा क्लबद्वारा आयोजित गाउँस्तरीय ‘दोस्रो स्वर्गीय हेनरी लेप्टेन नन्द सिंह गुरुङ स्मृति कप २०७८’ भलिबल प्रतियोगितामा पुरुषतर्फ भुर्जुङ्खोला युवा क्लब बिजयी भएको छ ।

शुक्रबार भएको फाइनल खेलमा भुर्जुङ्खोलाले स्थानिय ग्रिनहिल युवा क्लव ल्वाङलाई पराजित गर्दै बिजयी भएको हो । सम्पन्न फाइनल खेलमा २३–२५, २५–१८,२५–११ र २५–२३ ले पराजित गर्दै भुर्जुङ्खोलाले कप, मेडल र प्रमाणपत्र सहित नगद ४५ हजार तथा दोस्रो हुने ल्वाङले नगद २० हजारका साथमा कप र मेडल प्रमाणपत्र पाएको छ ।
यता महिलातर्फ भने ग्रिन हिल ल्वाङले आयोजिक टिम फेरी भेटौंला युवा क्लवलाई २५–१२, २५–१५ र २५–१० ले पराजित गर्दै बिजयी भएको छ । महिला भलिबलमा बिजेता ल्वाङले नगद १५ हजार दोस्रो फेरि भेटौला युवा क्लबले नगद १० हजार, मेडल प्रमाणपत्र हात पारेको छ ।
प्रतियोगितामा पुरुषतर्फ बेष्ट डिफेन्डर अन्तिम परियार, बेष्ट स्पाइकर धिरज परियार, बेष्ट सर्भर निकेश गुरुङ, बेष्ट सेटर सुदिप बिक, बेष्ट ब्लकर अर्दिन परियार, वेष्ट प्लेयर डिबेल तामाङ र वेष्ट कोचतर्फ टेक राना घोषित भएका छन् ।
यसै गरी महिलातर्फ बेष्ट सर्भर विपना नेपाली, बेष्ट डिफेन्डर अनिशा रानामगर, बेष्ट सेटर गंगा नेपाली, बेष्ट स्पाइकर सृष्टी बिक, बेष्ट प्रशिक्षक कृष गुरुङ र वेष्ट प्लेयरमा सर्मिला नेपाली घोषित भएको भलिवलका प्रशिक्षक जापान गुरुङले जानकारी दिए । कार्यक्रमतर्फ भएको ठेलो प्रतियोगितामा पारसमान गुरुङ पहिलो र विजय विक दोस्रो भएका छन् ।
विजेता खेलाडी तथा टिमहरुलाई नगद, मेडल तथा प्रमाणपत्र वितरण गर्दै राष्ट्रिय खेलकुद परिषद सदस्य राजेश कुमार गुरुङले आफुले जहिले पनि खेलकुदको बिकास चाहेको बताउँदै भने–“खेल अनुशासनको प्रमुख अङ्ग हो, खेलले नै आत्मियता बढाउँछ, शत्रुतालाई निश्तेज गर्छ ।” उनले सो अवसरमा आफ्नो व्यक्तिगतर्फ बाट आयोजक टिमलाई नगद २५ हजार तथा मदन भण्डारी स्पोर्टस एकेडेमीको तर्फबाट नगद २० हजार प्रदान गर्ने घोषणा समेत गरे । उनले साखुको स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्ने जनाए ।
सो अवसरमा कास्की जिल्ला भलिबल संघका अध्यक्ष भिम पराजुलीले कास्कीको माछापुच्छ्रे भलिबलको लागि उर्वर भुमी रहेको बताउँदै त्यस क्षेत्रका खेलाडीहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउन आफ्नो पहल रहने उल्लेख गरे । विजेता खेलाडी तथा सहयोगीहरुलाई क्षेत्रिय खेलकुदका लेखा प्रमुख डिवी नेपाली, भारोत्तोलन संघका केन्द्रिय उपाध्यक्ष राजन बडगामी, जिल्ला खेलकुदकी सदस्य मनिषा गुभाजु, आइटिएफका अन्तर्राष्ट्रिय खेलाडी सुदिप आचार्य, प्रशिक्षक शिव गुरुङ लगायतले प्रमाणपत्र वितरण गरेका थिए ।
क्लवका अध्यक्ष सन्तोष गुरुङको सभापतित्वमा उक्त कार्यक्रम सम्पन्न भएको थियो । गत फागुन १७ गतेबाट सञ्चालन भएको प्रतियोगिता पुरुष भलिवलतर्फ २४ र महिलातर्फ ६ टिमको सहभागिता रहेको थियो । प्रतियोगिता अन्तर्गत बालबालिका घैटो फुटाई, महिला म्यूजिकल चियर, रस्सा कस्सी, सांगेतिक लगायतका कार्यक्रमहरु समेत आयोजना गरिएको थियो ।
