
पोखरा स्पोर्टस् । डुम्रे सास्कृतिक युवा परिवारको आयोजनामा यही फागुन २१ गते देखि सेभेन ए साइड फुटबल प्रतियोगिता ‘मिनी डुम्रे कप–२०७८’ हुने भएको छ । युवालाई खेल संगै सामाजिक उतर दायित्व बोध गराउने उद्धेश्यले खेल आयोजना गर्न लागेको क्लबका अध्यक्ष कैलाश श्रेष्ठले बताए । फुटबल प्रतियोगिता फागुन २८ गते सम्म संचालन हुने छ ।
प्रतियोगिता तनहुँ डुम्रेको चुदी खोला पारी साझबोटे खेल मैदानमा हुने छ । सो प्रतियोगिताको आवश्यक तयारी पुरा भई सकेको क्लबका सदस्य विक्की गुरुङले बताए । प्रतियोगिताको विजेताले ५० हजार ५ सय ५५ नगद सहित ट्रफ्री,प्रमाणपत्र,उपविजेताले २५ हजार ५ सय ५५ नगद सहित ट्रफ्री,प्रमाणपत्र प्राप्त गर्ने छ । साथैउत्कृष्ट खेलाडी,डिफेन्डर,मिड फिल्डर,हाई स्कोरर, गोलकिपर र प्रत्येक खेलमा म्यान अफ दि म्याचको पुरस्कारको व्यवस्था रहेको आयोजकले बताए ।
स्वास्थ्यको लागि खेलकुदको महत्व बारे जानकारी दिने उद्धेश्यले ३० वर्ष माथिको उमेर समुहको फुटबल प्रतियोगिता पनि रहेको संस्थाका सचिव शम्भु श्रेष्ठले बताए । ३० बर्ष माथिको फुटबल प्रतियोगिताको विजयी टिमले बोका र उपविजेतालाई टिमको सहभागिता अनुसारको पुरस्कारको व्यवस्था गरिने श्रेष्ठले बताए ।
टिम दर्ता शुल्क ३ हजार ५ सय तोकिएको छ । प्रतियोगितामा २ दर्जन भन्दा बढि टिमले सहभागिता जनाउने अपेक्षा आयोजकको छ ।
उक्त प्रतियोगिता आयोजना गर्नका लागि लगभग ४ लाख ८० हजार खर्च लाग्ने अनुमान गरेको छ । प्रतियोगिता बाट बचेको रकम क्लबको भवन स्तरोन्नती,खेल मैदान मर्मत लगायतका सामाजिक कार्यमा खर्चिने आयोजकले जानकारी दिएको छ ।
