पल्सर स्पोर्टस् अवार्ड चैतको दोस्रो साता हुने

पोखरा स्पोर्टस । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)को आयोजनामा हुने अठारौँ ‘एनएसजेएफ–पल्सर स्पोर्टस् अवार्ड २०७७’ आगामी चैत ८ गते हुने भएको छ ।

एनएसजेएफले यसपटक नेपाली खेलकुद क्षेत्रमा इतिहास रचेका एक दशकका खेलाडीलाई सम्मानित गर्ने मञ्चद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो । यसपटक सर्वोत्कृष्ट दशक पुरुष खेलाडी, सर्वोत्कृष्ट दशक महिला खेलाडी, सर्वोत्कृष्ट दशक प्रशिक्षक, पारा एथलिट सम्मान, स्पेशल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, एसियन स्पोर्टस् जर्नालिस्ट अवार्ड तथा पिपल्स च्वाइस अवार्ड गरी आठ विधामा मनोनयन हुने एनएसजेएफले जनाएको छ ।

दशक अवार्ड भएका कारण सर्वोत्कृष्ट युवा खेलाडीको विधा भने यसपटक समावेश गरिएको छैन । दशक खेलाडी पुरुष, महिला तथा प्रशिक्षकको छनोट कार्य सुरु भइसकेको आयोजकले जनाएको छ । पारा एथलिट, स्पेशल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्टस् जर्नालिस्ट अवार्ड विजेता कार्यक्रमकै दिन घोषणा गरिने आयोजकले जनाएको छ । पिपल्स च्वाइस अवार्डका लागि मनोनयन सार्वजनिक गरिनेछ ।

दशक खेलाडी पुरुष, महिला, प्रशिक्षक र पिपल्स च्वाइस विधाका विजेताले बजाज पल्सर मोटरसाइकल प्राप्त गर्नेछन् । अन्य विधाका विजेताले भने जनही रु ५० हजारसहित विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् । उक्त अवार्डको मुख्य प्रायोजक हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिको बजाज पल्सर मोटरसाइकल रहनेछ । हंशराज हुलासचन्द एन्ड कम्पनी प्रालिका निर्देशक अभिमन्यु गोल्छा र आयोजक एनएसजेएफका अध्यक्ष दुर्गानाथ सुवेदीले सम्झौतापत्रमा आगामी तिन वर्षका लागि हस्ताक्षर गरेका छन् ।

सम्झौतापछि हंशराज हुलासचन्द एन्ड कम्पनी प्रालिका निर्देशक गोल्छाले अवार्डसँग लामो समयदेखि सहकार्य गरिरहेको र यसलाई निरन्तरता दिइने बताए। एनएसजेएफका अध्यक्ष सुवेदीले कोरोना महामारीका कारण वर्ष २०७७ मा खेल गतिविधि धेरै नभएकाले वार्षिक प्रदर्शनका आधारमा अवार्ड प्रदान गर्न सम्भव नरहेको उल्लेख गर्दै दशकको प्रदर्शनका आधारमा अवार्ड दिने तयारी भएको बताएका छन् । उनले २०७७ भित्र उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी तथा खेलकर्मीलाई पनि समेटिने उल्लेख गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close