पोखरेली मञ्च युकेका अध्यक्ष गुरुङलाई पोखरामा स्वागत 

पोेखरा स्पोर्टस । पोखरा अन्तर्राष्ट्रिय म्याराथनको अन्तर्राष्ट्रिय पार्टनर पोखरेली मञ्च युकेका अध्यक्ष मान प्रसाद गुरुङलाई स्वागत गरिएको छ

पोखरा म्याराथनको आयोजक नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भुतपूर्व खेलाडी मञ्चले शनिवार पोखरामा उनलाई स्वागत गरेको हो । उनी यहि फागुन ७ गते आयोजना हुने १६ औं संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनको सन्दर्भ सहित नेपालका विभिन्न खेलकुद तथा सामाजिक अभियानका कार्यक्रमका लागि मातृभुमी नेपाल आएका हुन् ।

मञ्चका अध्यक्ष हरिप्रसाद पराजुली, निवर्तमान अध्यक्ष तथा प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेज बहादुर गुरुङ, महासचिव कृष्ण तिमिल्सिनाले उनलाई स्वागत गरेका थिए ।

सो अवसरमा आफ्ना भनाई राख्दै पोखरेली मञ्च युकेका अध्यक्ष गुरुङले १६ औं संस्करणको भव्य सफलताको कामना गर्दै पोखरा म्याराथन केवल स्वास्थ्य संगको सन्दर्भ मात्रै नभई यसलाई सामाजिक रुपान्तरणको अभियानमा समेत जोड्न पोखरेली मञ्चले सुरुआत गरेको बताए । उनले भने–“पोखरा म्याराथन स्वास्थ्यका लागि मात्रै नभई घरको भान्सा बाटनै यसलाई जोड्ने अभियानमा मञ्च अघि बढेको छ”, उनले थपे, “म्याराथन मार्फत संगीतलाई जोड्दै यूवा वर्गलाई एक ठाउँमा उभ्याउन प्रयासमा हामी अघि बढेका छौं ।”

युकेमा २ लाख भन्दा नेपालीहरुको बसोबास रहेकोले पनि नेपाली नयाँ वर्षमा नेपाल रनको आयोजना गरी युकेमा रहेका नेपाली युवाहरुलाई समेत जोड्न मञ्च अघि बढेको बताउँदै अध्यक्ष गुरुङले त्यही सन्दर्भलाई जोड्दै पोखरा म्याराथनलाई सहयोग पुर्याउन ‘ट्याप–ट्याप’ प्रविधी समेत अघि बढाएको उनले बताए । उनले पोखरा म्याराथनमा धरान रनका परिकल्पनाकार सन्तोष राई, धावक पाण्डव महतो लगायत मञ्चका पदाधिकारी तथा कार्यसमितीका सदस्यहरु  पोखरा आउने तयारी गरिरहेको जानकारी समेत दिए ।

सो अवसरमा अध्यक्ष गुरुङलाई स्वागत गर्दै पोखरा अन्तर्राष्ट्रिय म्याराथन सफल बनाउन पोखरेली मञ्च युकेको महत्वपूर्ण सहभागिताका लागि आभार व्यक्त गर्दै पोखरेली मञ्च युकेको सहभागिताले पोखरा म्याराथनको उचाई थपिएको अध्यक्ष पराजुलीले बताए । उनले पोखरा म्याराथन पोखरेलीहरुको मात्रै नभई विश्वमा छरिएर रहेर नेपालीहरुका विच साझा अभियानको रुपमा अघि बढेको बताउँदै खेलकुद मार्फत पोखराको पर्यटन प्रवर्द्धन संगै सामाजिक अभियानलाई गति दिन महत्वपूर्ण भूमिका खेलेको बताए ।

स्वागत कार्यक्रममा मञ्चका निवर्तमान अध्यक्ष तथा प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेज बहादुर गुरुङले पोखरेली मञ्चको सहयोगका लागि आभार व्यक्त गर्दै पोखराको खेलकुद अभियानलाई अघि बढाउन भूतपूर्व खेलाडी मञ्चको भूमिका अहम रहेको उल्लेख गरे । कार्यक्रममा मञ्चका महासचिव कृष्ण तिमिल्सिनाले समेत आफ्ना भनाई राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close