
पोखरा स्पोर्टस । मरिसस विरुद्धको दोस्रो खेलमा नेपाल १–० गोलले विजयी भएको छ ।
मंगलवार दशरथ रंगशालामा सम्पन्न दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल विजयी भएको हो । नेपाललाई जित दिलाउन खेलको ११ औं मिनेटमा सुजल श्रेष्ठको एकमात्र गोल नै नेपालको जितका लागि प्रयाप्त रह्यो । राष्ट्रिय टिममा डेब्यु गरेका नविन गुरुङको कर्नरमा मरिससका खेलाडीले पन्च गरे पनि नेपालका आशिष लामाले प्रहार गरेको बलमा पुजन उपरकोटीले ब्याक फ्लिक गर्दै मिलाएको बलमा सुजलले गोल गरेका थिए ।
यता १३ औं मिनेटमा मरिससले नेपाल विरुद्ध पेनाल्टी गर्ने अवसर पाए पनि नेपाली गोल रक्षक किरण चेम्जोङले जोगाएका थिए । खेलको म्यान अफ दि म्याच समेत रहेका किरणले मोरिससका कप्तान एन्डी सोफीको पेनाल्टी प्रहारलाई गोल हुनबाट रोकेका थिए ।
मंगलबारको खेलमा रेडकार्डको वर्षा भयो । खेलको ७१ औं मिनेटमा नेपाली खेलाडी पुजन उपरकोटी र मरिससका खेलाडी एड्रियन बोटलरले रेडकार्ड पाएका थिए । निकै तनावपूर्ण रहेको खेलमा नेपाली दुई जना अफिसियललाई समेत रेफ्रिले रेडकार्ड देखाएका थिए । खेलको ८०औं मिनेटमा मरिससका एमानुएल फलचन्दले दोहोरो एलोकार्ड पाउँदै मैदानबाट वाहिरिएका थिए ।
