पारा तेक्वान्दो टोली सम्मानित

पोखरा स्पोर्टस । चीनको हाङझावमा भएको चौथो एसियाली पारा खेलकुदको तेक्वान्दोमा कांस्य पदक जितेकी पलेशा गोवर्धनसहितको टोलीलाई शनिबार सम्मान गरिएको छ । पलेशासहित प्रशिक्षक कविराज नेगी लामा र व्यवस्थापक रामचन्द्र श्रेष्ठ सम्मानित भएका हुन् ।

काठमाडौं र ललितपुर जिल्ला तेक्वान्दो संघ, काठमाडौं र ललितपुरका डोजाङ प्रमुख, तेक्वान्दो पदाधिकारीले पलेशा र प्रशिक्षक लामालाई नगदसहित प्रशंसा पत्र तथा व्यवस्थापक श्रेष्ठलाई प्रशंसा पत्रसहित सम्मान गरेका हुन् । पलेशालाई ८७ हजार १ सय ७५ तथा लामालाई ३३ हजार नगद प्रदान गरियो । त्यसमा काठमाडौं र ललितपुर जिल्ला तेक्वान्दो संघले पलेशालाई समान १५–१५ हजार तथा लामालाई समान १०–१० हजार नगद पुरस्कार प्रदान गरेका हुन् ।

उनीहरुलाई तार्केश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जन, नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशमशेर राणा, काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गी, ललितपुर जिल्ला तेक्वान्दो संघका अध्यक्ष दिल महर्जनलगायतलले बसुन्धारास्थित साउथ वेस्टर्न स्टेट कलेजमा आयोजित एक कार्यक्रमबीच सम्मान गरे ।

गत अक्टोबर २२ देखि २८ तारिखसम्म भएको एसियाली पारा खेलकुदको तेक्वान्दोतर्फ के– ४४ क्याटगोरीको महिला ५७ केजीमुनि पलेशाले नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाएकी थिइन् । पलेशाले जितेको पदक नेपालले पारा एसियाली खेलकुदमा जितेको पहिलो पदक हो ।

आफ्नो खेलपछि छोटो समयका लागि स्वदेश फर्किएकी पलेशा सोमबार चीनको सांघाइ प्रस्थान गर्दै छिन् । पलेशा सांघाइस्थित तोङजी विश्वविद्यालयमा आर्किटेक्चर इन्जिनिएरिङको स्नातक तहमा अध्ययनरत छिन् । एसियाली पारा खेलकुदमा सहभागी हुन पलेशा सांघाइबाटै हाङझाव गएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close