एन्फा टेक्निकल सेन्टरको टेन्डर आह्वान संगै छायो खुसियाली

पोखरा स्पोर्टस । कास्कीको माछापुच्छ्रे गाउँपालिका–६ भिँडाबारीमा लामो समयदेखि निर्माण चर्चामा रहेको एन्फा टेक्निकल सेन्टर (बहुउद्धेश्यीय प्राविधिक केन्द्र) निर्माण हुने निश्चित हुने भए पछि पोखरेली फुटबल प्रेमीहरुमा खुसी छाएको छ ।

अखिल नेपाल फुटबल सङ्घ(एन्फा)ले साढे तीन वर्षअघि भिँडाबारीमा प्राविधिक केन्द्र निर्माणका लागि प्रस्ताव गरेपनि लामो समयदेखि बन्ने/नबन्ने निश्चित नभएकोमा शुक्रबार निर्माणका लागि बोलपत्र आह्वान गरिएपछि स्थानीयवासी संगै फुटबल प्रेमीहरु खुसी संगै उत्साहित भएका हुन् । ठूलो लगानीमा निर्माण हुने एन्फाको परियोजनाले यस क्षेत्रमा रोजगारी सिर्जना, सडक खानेपानी लगायत पूर्वाधार विकास तथा पर्यटन प्रवर्द्धन महत्वपूर्ण हुने भन्दै स्थानीयवासीले खुःशी व्यक्त गरेका छन् ।

विश्व फुटबलको सर्वोच्च नियमनकारी निकाय अन्तर्राष्ट्रिय फुटबल महासङ्घ(फिफा)को ‘टेक्निकल डेभलपमेन्ट’ कार्यक्रम अन्तर्गत दक्षिण एशियामै पहिलोपटक आधुनिक र सुविधासम्पन्न सो केन्द्र निर्माण हुन लागेको हो । सोे टेक्निकल सेन्टर फिफाको एशियाकै पहिलो कार्यक्रम रहेकाले खेलाडी उत्पादन गरी फुटबल खेलको विकासका लागि महत्वपूर्ण हुने बताइन्छ ।

एन्फाले ‘ड्रिम प्रोजेक्ट’का रुपमा लिएको प्राविधिक केन्द्र निर्माणका लागि पहिलो चरणमा रु १७ करोड लगानी हुनेछ । यसअघि चौथो चरणसम्म रु ८५ करोड लगानी हुने बताइएपनि यसमा थप १० देखी १५ प्रतिशतसम्म लगानी वृद्धि हुने एन्फाका प्रमुख कार्यकारी अधिकृत तथा परियोजना प्रमुख गोकुल थापाले बताए । चौथो चरणसम्ममा लगानी हुने परियोजनाको सबै लागत फिफाले बेर्होनेछ ।

उहाँका अनुसार परियोजनाका लागि जग्गा प्राप्ती, आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तथा डिजाइन, वातावरणीय प्रभाव मुल्याङ्कन, कोरोना महामारी लगायतका कारणबाट कागजी प्रक्रिया पुरा गर्न समय लागेको उनको भनाइ छ । परियोजना प्रमुख थाापाले भने,“माछापुच्छ«ेमा टेक्निकल सेन्टर एन्फाको ‘ड्रिम प्रोजेक्ट’ हो । बोलपत्र आह्वानपछि यसको निर्माण अघि बढाउन ‘ब्रेक थ्रु’ भएको छ । सरकारको सार्वजनिक खरीद नियमानुसार बोलपत्र आह्वान र मुल्याङ्कन लगायतका काम पछि ठेक्का सम्झौता गरेर शिलान्यास गर्नेछौँ ।” भिँडाबारीको ४५२ रोपनी क्षेत्रफल जमिनमध्ये २५२ रोपनीमा बहुउद्धेश्यीय प्राविधिक केन्द्रका संरचना निर्माण हुनेछन् । गाउँपालिकाले जमिनको व्यवस्था गरेपछि एन्फाले काम अघि बढाएको हो । यसमा केही स्थानीयवासीले पनि आफ्नो स्वामित्वको जमिन गाउँपालिकालाई उपलव्ध गराएका छन् ।

एन्फाका अनुसार प्रस्तावित परियोजनामा दुई वटा अभ्यास मैदान, पाँच हजार दर्शक क्षमताको एक मुख्य मैदान, दुई वटा फुटबल मैदान, एक फुटसल मैदान, कृत्रिम सानो मैदान एक, व्याडमिन्टन कोर्ट, दौड मैदान र बग्दो पानीको पौडी पोखरी निर्माण हुनेछन् । यसैगरी भवन संरचनातर्फ दुई पुरुष र दुई महिलाका गरी चार छात्रावास भवन, दुई वटा अभ्यास भवन, तीन वटा पाहुना आवास भवन, कार्यकारी आवास भवन दुई, सुरक्षा गार्ड घर दुई, एक चमेनागृह ब्लक, सात शौचालय, ओपन फुड कोर्ट , टिकट काउन्टर र चिकित्सा केन्द्र निर्माण गर्ने योजना छ ।

परियोजना एन्फाले चार चरणमा पुरा गर्ने योजना बनाएको परियोजना प्रमुख थापाले जानकारी दिए। पहिलो चरणमा प्रशिक्षण मैदान, पुरुष छात्रावास, अभ्यास ब्लक, कार्यकारी र पाहुना आवास गृह, चारैतिर पर्खाल, लगायतका संरचना निर्माण गरिने उल्लेख छ ।

दोस्रो चरणमा मुख्य मैदान, प्रशासनिक भवन, मेडिकल सेन्टर, महिला आवास गृह निर्माण हुनेछ भने तेस्रो चरणमा अभ्यास मैदान, प्रशिक्षण ब्लक, पौडी पोखरी र टिकट काउन्टर बन्नेछ । फुटसल मैदान, आर्टिफिसियल मिनी पीच, ब्याडमिन्टन कोर्ट, प्यारापिट, पहँुच मार्ग, ट्रयाक एण्ड फिल्ड लगायतका काम अन्तिम चरणका लागि छुट्टाइएको छ । रङ्गशालाका लागि नेपाल सरकारबाट सहयोग प्राप्त भएमा प्यारापिट सहितको बनाउने योजना रहेको बताइन्छ । सो प्राविधिक केन्द्रमा विभिन्न उमेर समूहका किशोर/किशोरीलाई राखेर फुटबल खेल सिक्ने/सिकाउने र खेलाडी उत्पादन गरिनेछ । यसका साथै स्वदेशी तथा विदेशी राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण समेत सञ्चालनको योजना छ ।

परियोजनाको बोलपत्र आह्वानपछि गाउँपालिकावासीमा उत्साह छाएको गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले बताए । उनले अन्तर्राष्ट्रिय मापदण्डको प्रशिक्षणस्थल पालिकामा बन्नु गौरवको विषय रहेको उल्लेख गरे । उनले भने,“यस परियोजनालाई समयमै निर्माण सुरुआतका लागि हाम्रो तर्फबाट पनि धेरै मिहिनेत गरेका छौँ । अहिले बोलपत्र आह्वान भएको खबरले हामीलाई उत्साहित बनाएको छ । गण्डकी प्रदेशको मात्र नभई देशकै फुटबल खेलको विकासमा योगदान पुग्ने विश्वास छ । ”

परियोजना निर्माणका लागि बोलपत्र आह्वान गर्नुअघि मर्दी र इदी नदीमा तटबन्ध गर्न आग्रह गरेपछि गाउँपालिकाले नदी नियन्त्रणका लगि तटबन्ध गरेको थियो । स्थानीय जयलाल दवाडीले राष्ट्रिय अन्तर्राष्ट्रिय महत्वको परियोजना आफ्नो गाउँमा बन्ने भएपछि स्थानीयवासी खुःशी भएको बताए । उनले जग्गाधनीलाई सम्मान गरिनुपर्ने र रोजगारी लगायतमा स्थानीयवासीलाई प्राथमिकता दिन आग्रह गर्दै भने–“ यो परियोजना बन्ने भएपछि हामी स्थानीय उत्साहीत भएका छौँ । यसका साथै आफ्नो जमिन परियोजनालाई दिने जग्गाधनीलाई सम्मान गरिनुपर्दछ । यस परियोजनाले यस क्षेत्रको विकासमा ठूलो योगदान पुग्ने विश्वास लिएका छौँ ।”

यता एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङले समेत एन्फा टेक्निकल सेन्टरको टेन्डर आह्वान भए संगै खुसी व्यक्त गरे । उनले भने–“यो कास्की एन्फाको लामो प्रयास थियो । हामी यो कुरा उठे पछि कास्कीमा नै निर्माण गर्नुपर्छ लागि परेका थियौं । टेन्डर आह्वान भएको छ अव यहाँको फुटबल जिवनले नयाँ आकार पाउनेछ ।”

सहारा युकेका पूर्व अध्यक्ष तथा सोही ठाउँ निवासी मिन बहादुर गुरुङले समेत पोखरा स्पोर्टस संग कुरा गर्दै लामो समयको प्रयास पछि टेक्निकल सेन्टरले मुर्तरुपमा पाएकोमा उत्साहित हुँदै भने–“हामी युकेमा रहे पनि यहाँको फुटबल विकासमा केही नयाँ देख्न र सुन्न चहान्थ्यौं त्यो कुरा आज साकार भएको छ । यसका लागि फिफा, एन्फा परिवार र समग्र गाउँवासीलाई बधाई दिन चाहन्छु ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close