
पोखरा स्पोर्टस । लामो समयको प्रतिक्षा पछि भिडावारीस्थित एन्फा टेक्निकल सेन्टरको टेन्डर आह्वान भएको छ ।

विश्व फुटबलको छाता संस्था फिफाको सहयोगमा अखिल नेपाल फुटबल संघ (एन्फा)ले ड्रिम प्रोजेक्टमा अघि सारेको एन्फा टेक्निकल सेन्टरको डिपिआर तयार भएको करिव २ वर्ष पछि टेन्डर आह्वान भएको हो । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा निर्माण गर्न लागिएको उक्त एन्फा टेक्निकल सेन्टर टेण्डर गर्नु अघि नदीमा तटवन्ध संगै वातावरणिय मुल्याङ्कन लगायतका सम्पूर्ण प्रक्रियाहरु पुरा गरिएको एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले जनाएका छन् ।
३० दिने टेन्डर आह्वान सार्वजनिक गरे संगै एन्फा अध्यक्ष शेर्पाले धेरै वाधा अडचन विच ड्रिम प्रोजेक्टले मुर्त रुप लिन थालेको बताए । उनले भने–“टेन्डर आह्वान भए संगै अव निर्माण कम्पनीको छनोट हुनेछ भने शिलन्यासको प्रक्रिया अघि बढनेछ ।
एन्फाका प्रमुख कार्यकारी अधिकृत तथा परियोजना प्रमुख गोकुल थापाले ३ सय ४२ रोपनी जग्गा २० वर्षका लागि भोगचलन गर्नेगरी सम्झौता भइसकेकोको जानकारी गराए । उनले पहिलो चरणमा अभ्यासका लागि ४ खेल मैदानसहित होस्टेल, जिम हल, गेस्ट रुम, स्विमिङ पुल, पुस्तकालय रहने गरी संरचना बनाउने प्रस्ताव पारित भएको उनले बताए । करिव ८५ करोडको लागतमा ४ वर्षमा काम सक्ने लक्ष्य लिइएको थापाको भनाई छ ।
‘ड्रिम प्रोजेक्ट’ को रुपमा अघि सारिएको एन्फा टेक्निकल सेन्टरमा राष्ट्रिय फुटबल टिम, रेफ्री, प्रशिक्षक तथा विभिन्न उमेर समूहको अभ्यास तथा ट्रेनिङहरु सञ्चालन गर्ने लक्ष्य राखिएको छ । ८० जना बालबालिकालाई अभ्यासका लागि पनि राख्ने योजना छ । फिफाले एन्फाका लागि पठाएको २० लाख डलरबाट उक्त सेन्टर बनाउने योजना थालेको हो । पहिलो चरणका कामका लागि १७ करोड रुपैयाँ खर्च हुने कार्यकारी प्रमुख थापाले बताए ।
यता गाउँ पालिकाले ४ करोड खर्च गरेर नदीमा तटवन्ध समेत गरिसकेको छ ।
