
पोखरा स्पोर्टस । टाइ व्रेकरमा विभागिय टोली नेपाल आर्मीलाई ४–३ ले पराजित गर्दै ए डिभिजनको मनाङ मर्स्याङदी फाइनलमा प्रवेश गरेको छ ।

प्रतियोगिता अन्तर्गत खेलको ९० मिनेट र थपिएको ३० मिनेटमा समेत दुवै टिम गोल रहित बराबरीमा खेले पछि टाइ व्रेकरमा मनाङ भाग्मानी बन्दै फाइनलमा स्थान बनाएको हो । मनाङका लागि नायक बनेका किपर अशोक बरालले टाइ व्रेकरमा आर्मीको एक गोलको बचाउ गर्दै अन्तिम समय सम्म दवावमा राखेका थिए । खेल अवधीभर मनाङका किपर अशोकले आर्मीलाई गोल गर्ने कुनै अवसर नै दिएनन । फाइनलमा मनाङको भेट शसस्त्र प्रहरीको एपिएफ क्लव संग हुनेछ । मनाङ आहा राराको छैटौं पटकको उपाधि विजेता समेत हो ।
आर्मीका लागि भरत खवास, प्रीन्स कार्की , विवेक बस्नेतले गोल गरेका थिए भने युद्ध शाहीको प्रहारलाई अशोकले बचाउ गरे । दिपक गुरुङको प्रहार वाहिरएको थियो । यता मनाङका लागि एन्डेलेजा सोमिडे, शिव गुरुङ, रुपेश केसी र ओलावालाले गोल गर्दै टिमलाई पुर्याएका थिए । विश्व अधिकारिको प्रहार भने विकेश कुथुले बचाउ गरेका थिए ।
प्रतियोगितामा पहिलो हाफमा दुवै टिमबाट गोल हुन नसक्दा बरावरीमा सकिएको थियो । खेलको ९ औं मिनेटमा मनाङ पेनाल्टीमा चुक्यो । ओलाआलेको प्रहारलाई डिबक्सबाट क्लियर गर्ने क्रममा आर्मीका यूद्ध शाहीले बल हातले छुन पुग्दा पेनाल्टीको अवसर मनाङले पाएको थियो । तर मनाङका कप्तान विमल राना मगर पेनाल्टी प्रहारबाट चुके । उनको प्रहार क्रसबार बाहिरियो । जसका कारण मनाङ अग्रता लिन चुक्यो । खेलको पहिलो मिनेटमा नै आर्मीका क्प्तान भरत खवासको हेडर फितलो रह्यो । विवेक बस्नेतको क्रसमा मनाङ मस््याङदीका डिफेन्डर अदित्य चौधरीले हेडमार्फत क्लियर गर्न खोज्दा उनी चिप्लिन पुगेका थिए । जुन गोल गर्ने अवसर खवासले गुमाए ।
३५ औ मिनेटमा पुनः एक पटक कप्तान भरत खवास गोल गर्न चुके । बिवेक बस्नेतको प्रहारलाई जर्ज प्रिन्स कार्कीले प्रहार गरे । गोललाइनबाट मनाङका किपर अशोक बरालले पन्च गरे । पन्चबाट रिफ्लेक्ट भएको बललाई भरतले प्रहार गरेका थिए । ४४ औ मिनेटमा आर्मी पुनः एक पटक गोल गर्नबाट चुक्यो । बिमल पाण्डेको डिबक्स भित्रबाट गरेको प्रहार गोलरक्षक अशोकले पुनः एक पटक उत्कृष्ट बचाउ गरे ।
इता दोश्रो हाफमा समेत खेलमा आर्मी केही हद सम्म हावी भए पनि गोल गर्न भने सकेन । ५२ औ मिनेटमा ओलावालेको प्रहारमा आर्मिका गोलरक्षक विकेश कुथु बाधक बने । ५६ औ मिनेटमा आर्मिको गोलको सुवर्ण अवसरमा खेर गयो । आर्मीका प्रीन्स कार्कीको फ्रीकिक प्रहारमा राजिव गुरुङको हेडरलाई डिफिन्डरले गोललाइनबाट क्लियर गर्दा पुनः एकपटक आर्मीलाई निरासा हात लाग्यो । खेलको ६१ औ मिनेटमा मनाङका ओलावालेको पासमा अडेलजा सोमिडे गोल गर्न चुके । उनको प्रहारलाई विकेशले उत्कृष्ट रुपमा जोगाएका थिए ।
तस्विरः सुदर्शन रञ्जित
