सहारा एकेडेमीलाई सहयोग हस्तान्तरण

पोखरा स्पोर्टस । सहारा क्लब पोखराद्वारा सञ्चालित सूर्यबहादुर केसी स्मृति सहारा एकेडेमीलाई विभिन्न व्यक्तिले शनिबार सहयोग गरेका छन् ।

सहारा क्लब हङकङ अध्यक्ष दीपक गुरुङ, उपाध्यक्ष सुमित्रा गुरुङ, कार्यसमिति सदस्य एवं पूर्व राष्ट्रिय फुटबल खेलाडी तिलक गुरुङ लगायतले पोखरा १७ दोबिल्लास्थित एकेडेमी अवलोकन गर्नेक्रममा विभिन्न व्यक्तिले सहयोग हस्तान्तरण गरेका हुन् ।

यसैक्रममा पोखरा १०, रामबजार घर भई हाल हङकङ निवासी पुष्पा गुरुङले सहारा एकेडेमीको अक्षयकोषमा २५ हजार, देवेन्द्रजंग महतको स्मृतिमा हङकङ निवासी उनकी श्रीमती कमला गुरुङले १५ हजार, पूर्व राष्ट्रिय खेलाडी तिलक गुरुङले १० हजार सहयोग गरे ।

साथै, सहारा हङकङ उपाध्यक्ष सुमित्रा गुरुङले एकेडेमीमा आश्रित बालकहरु भागवत चौधरी र सन्तोष साहीको निम्ति कम्प्युटर सिक्न ३० हजार नगद सहयोग गरिन् ।

उक्त सहयोग सहारा क्लब पोखरा अध्यक्ष हरिराम गुरुङलाई हस्तान्तरण गरिएको महासचिव रामजीप्रसाद अधिकारीले बताए ।

कार्यक्रममा सहारा क्लबका वरिष्ठ उपाध्यक्ष केशवराज बराल, उपाध्यक्ष एवं एकेडेमी संयोजक चित्रबहादुर पुन, महासचिव रामजीप्रसाद अधिकारी, सहकोषाध्यक्ष बिनु राना, सदस्य रोजिना गुरुङ, पूर्व कार्यसमिति सदस्य राजकुमार गुरुङ लगायतको उपस्थिति थियो ।

सहारा क्लबले अहिले चौंथो व्याचका रुपमा बाबुआमा गुमाएका विपन्न तथा कठिन परिस्थितिमा रहेका बालक हरुको भर्ना लिएको छ । गत वर्षमात्रै एकेडेमीको नाम परिवर्तन गरी सूर्यबहादुर केसी मेमोरियल सहारा आवासीय फुटबल एकेडेमी नामकरण गरिएको थियो । जसमा आगामी १० वर्षसम्म पूर्व सांसद, उद्योगी एवं समाजसेवी स्व.सूर्यबहादुर केसीको परिवारले एकेडेमीलाई बर्सेनि १० लाख रुपैयाँ क्लबलाई प्रदान गर्ने सहमति छ ।

२०५५ साल भदौ ३० मा स्थापना भएको मोफसलको क्लब सहारा क्लबले यसै वर्ष स्थापनाको रजत जयन्ती मनाउँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close