
पोखरा स्पोर्टस । पोखराको प्रतिष्ठित संस्था बगर भाई खलकले माघ १५ गते खुला रक्तदान कार्यक्रम गर्ने भएको छ ।
संस्थाले आफ्नो वार्षिक कार्यक्रम अनुसार रक्तदान कार्यक्रम आयोजना गर्न लागेको हो । बगर ट्याक्सीचोकमा हुने उक्त रक्तदान कार्यक्रमको संयोजन गर्न संस्थाका सचिव मानकाजी गुरुङको संयोजकत्वमा तिन सदस्यिय समिती गठन गरिएको अध्यक्ष दिल बहादुर गुरुङले जनाएका छन् । समितीको सदस्यमा बाबुराम पौडेल र प्रदिप गुरुङ रहेका छन् ।
यसै गरी संस्थाको मंगलबार सम्पन्न बैठकले ऐतिहासिक टुँडीखेल मैदानमा ग्रास रुट लेभलको फुटबल प्रशिक्षण शुरुवात गर्ने भएको छ । कुनै बेला राष्ट्रिय खेलाडी उत्पादनको मुख्य थलो रहेको उक्त मैदानलाई इतिहासतर्फ नै डोर्याउन ग्रास रुट लेभलको प्रशिक्षणलाई विशेष प्राथमिकता दिइन लागिएको अध्यक्ष गुरुङले बताए । उनले भने–“संस्थाको मुख्य ध्येय पनि यहि हो । पाका खेलाडीहरु विच प्रतियोगिता गर्ने तथा यूवा खेलाडीहरुलाई प्रोत्सहान गर्दै फुटबल विकासमा अघि बढ्ने । हामीले आफ्नो संकल्पलाई मुर्तरुप दिन लागेका छौं ।”
ग्रासरुट लेभलको कार्यक्रम सफल बनाउन पूर्व राष्ट्रिय खेलाडी आनन्द रञ्जितको संयोजकत्वमा सात सदस्यिय समिती गठन गरिएको छ । जसको सह–संयोजकमाद्वय धन गुरुङ र इश्वर गुरुङ ‘चन्द्र’ रहेका छन् । त्यसै गरी सदस्यमा पूर्व राष्ट्रिय खेलाडी रमेश कुमार श्रेष्ठ, कुमार गुरुङ, शकिल गुरुङ र अन्जन देवकोटा रहेका छन् । गठित समितीले फागुन १५ गते सम्म प्रशिक्षणको विनियम निर्माण गरी पेश गर्नेछ ।
सम्पन्न बैठकले यहि पुष २६ गते देखि माघ १ गते सम्म पोखरामा सञ्चालन भएको ‘५ औं स्व.रञ्जित गुरुङ तथा ११ औं भेट्रान्स अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता’ सफल बनाउन सहयोग गर्ने मुख्य प्रायोजक स्व.रञ्जित गुरुङको परिवार, गण्डकी प्रदेश सरकार, यूवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेश, प्रदेश खेलकुद परिषद गण्डकी, बगर भाई खलक यूके, सहारा युके, तमु धि यूके, चौधरी ग्रुप लगायत देश विदेशबाट प्रतियोगिता सफल बनाउन सहयोग गर्नेहरुलाई धन्यबाद सहित आभार प्रकट गरेको छ ।
