
पोखरा स्पोर्टस । सहारा क्लव पोखराले २० औं आहा रारा गोल्डकपको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ।

यहि माघ ६ गतेबाट पोखरा रंगशालामा सञ्चालन हुने आहा रारा गोल्डकपको सम्पूर्ण तयारी पुरा भएको पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो । आयोजक सहारा क्लवका अनुसार माघ ६ गते दिउसो २ बजे हुने उद्घाटन खेलमा आयोजक सहारा क्लव पोखरा र शसस्त्र प्रहरीको एपिएफ क्लव भिड्ने भएका छन् ।
कोभिड १९ को ओमिक्रोन भेरियन्ट फैलिए संगै आयोजना हुन लागेको उक्त प्रतियोगितामा जिल्ला प्रशासन कार्यालय कास्कीले लागु गरेको स्वास्थ्य मापदण्ड पालना गर्दै २० औं सस्करणलाई सुचारु गरिएको क्लवका अध्यक्ष हरिराम गुरुङ ‘सुरज’ले जनाएका छन् । उनले भने–“यो अवस्थामा प्रतियोगिता आयोजना गर्नु चुनौतीको विषय हो तर हामी स्वास्थ्यका सम्पूर्ण मापदण्ड अपनाउँदै आयोजना गर्दैछौंं हामी यहाँहरुको सहयोगको पूर्ण अपेक्षा गर्दछौं ।”

पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रिय खेलकुद परिषद (राखेपका सदस्य राजेश कुमार गुरुङले २० औं आहा रारा सफल बनाउन आफ्नो तर्फबाट पूर्ण सहयोग रहने प्रतिवद्धता जनाए । त्यसै गरी प्रतियोगिताका मुख्य प्रायोजक संस्था आहा रारा चाउ चाउका उत्पादक हिम श्री फुड्सका निर्देशक प्रकाश केसीले यस्तो विषम समयमा समेत थोरै दर्शकमाझ हुन लागेको आहा रारा गोल्डकप सफल बनाउन सवैको सहयोगको अपेक्षा गरे । त्यसै गरी हिमश्रीका अध्यक्ष किरण केसीले प्रतियोगितालाई सफल बनाउन आग्रह गरे ।
कार्यक्रममा आफ्ना भनाई राख्दै सहारा यूकेका नवनिर्वाचित अध्यक्ष ले.रि.कुशाङ गुरुङले यहि प्रतियोगितालाई मध्यनजर गर्दै युकेबाट ५० जना भन्दा वढीको टोली पोखरा आइपुगेको जानकारी दिंदै अहिलेको विषम समयमा जे जस्तो अवस्थामा प्रतियोगिता आयोजना भए पनि यसको सफल र भव्य सफलताको शुभकामना व्यक्त गरे ।
माघ १५ गते सम्म सञ्चालन हुने प्रतियोगितामा संकटा क्लब, मछिन्द्र क्लब, नेपाल पुलिस फुटबल क्लब, हिमालयन शेर्पा क्लब, रुस्लान थ्रिस्टार क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल ए. पि. एफ. क्लब, विवाईएससी मिनेसोटा अमेरिका, मनाङ्ग मर्स्याङ्गदी क्लब र सहारा क्लब पोखराको सहभागिता रहने सहारा क्लवका महासचिव रामजी अधिकारीले जानकारी दिएका छन् । गत वर्षको विजेता संकटा क्लब र उपविजेता अफ्रिकन रुट एसोसिएसन डाउल्ला, क्यामरुन रहेको थियो ।
“खेलकुदको विकासमा सहकार्य गर्रौ, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं”भन्ने उद्धेश्यका साथ सहारा क्लब पोखराद्धारा आयोजित मोफसलको बहुप्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब स्तरिय आमन्त्रित आहा! रारा गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि विजेताले नगद १० लाख १ हजार र रु. ५ लाख १ हजार रुपैयाँ र उपविजेताले नगद ५ लाख प्राप्त गर्ने छन् ।
प्रतियोगिताको अनुमानित आम्दानी १ करोड ३६ लाख १ हजार रुपैयाँ र अनुमानित खर्च १ करोड ६ लाख ४८ हजार ५ सय रुपैयाँ प्रक्षेपण गरिएको छ । क्याराभान गोल्ड कप सहित २१ वर्ष देखी निरन्तर सञ्चालन भएको यस प्रतियोगितामा वचत हुन आएको रकम क्लबद्वारा संचालित सुर्य बहादुर के.सी.स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गरिने छ । हाल तेश्रो व्याचको एकेडेमीमा १४ जिल्लाका २४ जना बालकहरु आश्रित छन् । विगत २०७० साल देखि उनीहरु आवसिय रुपमा निःशुल्क स्वास्थ्य, शिक्षा दिक्षा लगायत फुटबल प्रशिक्षण समेत सहारा फुटबल एकेडेमी गण्डकी प्रदेश, पोखरा–१७ स्थित दोविल्लामा प्रदान गर्दै आईरहेको छ ।
प्रतियोगितालाई पहिलो संस्करण देखिनै मुख्य प्रायोजकको रुपमा बहुचर्चित मोफसलको व्यापारिकघरना हिमश्री फुड्स प्रा. लि. को उत्पादन आहा तथा रारा तयारी चाउचाउले गरेको छ । द्वितीय पुरस्कार प्रायोजन सहारा क्लब हङकङ, सर्वोत्कृष्ट खेलाडी पुरस्कार सीताज लाइफ स्टाइलको अप्रिला स्कुटर, सह उप– प्रायोजक मलवेी हस्पिटेलिटी इन्टिच्यूट, अफिसियल स्र्पोट वयर पार्टनर एक्स–टेप, अफिसियल एजुकेसन पार्टनर हिमाअस एजुकेसन कन्सल्टेन्सी, अफिसियल बैंक लुम्बिनी विकास बैंक, फेयर प्ले पुरस्कार प्रायोजक रोयल इन्फिल्ड बुलेट बाईक बुलेट ट्रेडर्स प्रा.लि.नयाँबजार–९, सर्वाधिक गोलकर्ता पुरस्कार हङकङ निवासी कानुन व्यबसायी समाजसेवी देव गुरुङ, सहारा क्लब हङकङ सल्लाहकार, सफल व्यवसायी गेरी गुरुङ बाट ५० हजार सहयोग गरेको आयोजकले जनाएको छ ।
प्रतियोगिताको उद्देश्य पर्यटकीय शहर पोखरालाई स्पोर्ट हब सिटीको रुपमा परिचित गराउँदै, पर्यटन प्रबर्धन गर्नुको साथै, नव प्रतिभावान फुटबल खेलाडीहरुलाई आफ्नो खेल कौशल प्रर्दशन गर्ने उचित अवसर उपलब्ध गराउनु रहेको छ । यस वर्ष पनि “सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान २०७८” बाट एक जना राष्ट्रिय खेलाडीलाई नगद रु. ३५ हजार सहित सम्मानित गर्ने क्लवले जनाएको छ ।
पत्रकार सम्मलेलनमा प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव तेज बहादुर गुरुङ, सहारा युकेका निवर्तमान अध्यक्ष कुमार गुरुङ, सहारा युकेका सचिव पूर्व डिएसपी वाचस्पती रेग्मी, सहारा यूकेका सल्लाहाकार कृष्ण गुरुङ, एन्फाका उपाध्यक्ष कृष्ण थापा लगायतको सहभागिता रहेको थियो
