
पोखरा स्पोर्टस । मार्शल आर्टस खेलमा आत्मरक्षाका लागि प्रभावकारी मानिएको आइकिडो आइकिकाईको सातौं डान ग्रेडिङ्ग परिक्षा सम्पन्न भएको छ ।
नेपाल आइकिडो आइकिकाई संघ (आन)को आयोजनामा उक्त ग्रेडिङ्ग परिक्षा सम्पन्न भएको हो । डान ग्रेडिङ्गमा सहभागी खेलाडीहरुले उच्च स्तरको खेल प्रदर्शन गरि परिक्षामा उत्तिर्ण हुन सफल भएको उक्त खेलका मुख्य प्रशिक्षक विनय श्रेष्ठले जनाएका छन् । परिक्षामा उत्तिर्ण भएका खेलाडीहरुलाई वागमती प्रदेशका पर्यटन तथा सस्कृति मन्त्री दिपेन्द्र श्रेष्ठले प्रमाणपत्र वितरण गरेका थिए । उनले आत्मरक्षाका लागि खेलिने आइकिडो खेलको विकासका लागि सहयोग गर्ने प्रतिवद्धता समेत जनाए ।
सो अवसरमा आईकिडो खेलाडीहरुले प्रदर्शनी खेल देखाएका थिए । समापन कार्यक्रममा समाजसेवी तथा बिश्व संस्कृति नेटका महासचिव बसन्त श्रेष्ठ, साहित्यकार तथा एपेक नेपालका अध्यक्ष विश्वमोहन श्रेष्ठ, त्रिबिध्या शिक्षा सदनका संस्थापक संगिता श्रेष्ठ र आनका उपाध्यक्ष राजेन्द्र श्रेष्ठको सहभागिता रहेको थियो ।
उक्त खेल विश्वका १४० देशमा विस्तारित भएको र नेपालमा विगत १३ बर्ष देखि सञ्चालनमा छ । उक्त खेललाई नेपालमा अर्जुन श्रेष्ठले भित्रायाउन मुख्य भुमिका खेलेका थिए । आईकीडो आईकिकाई संघ नेपालले काठमाण्डौ, पोखरा, तनहुं लगायत नेपालको बिभिन्न जिल्लाका विद्यालयहरुमा निरन्तर प्रशिक्षण दिंदै आएको छ । आईकीडो आईकिकाई, जापानको केन्द्रिय कार्यालय संग आबद्ध छ साथै अन्तर्राष्ट्रिय आईकिडो महासंघको सदस्य समेत हो ।
