
पोखरा स्पोर्टस । नेपाली खेलाडीहरुको छाता संस्था नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए)ले नवौं राष्ट्रिय खेलकुद तयारीका लागि गम्भिर बन्न आग्रह गरेको छ ।
एनएनआपिएले एक प्रेस विज्ञप्ती मार्फत यूवा तथा खेलकुद मन्त्रालयलाई सो वारे गम्भिरता पूर्वक अघि बढ्न आग्रह गर्दै तोकिएको मिति भन्दा पनि एक वर्ष ढिला भइ सक्दा समेत नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति घोषणा नहुँदा चिन्ता व्यक्त गर्दै यूवा तथा खेलकुद मन्त्रालयलाई गम्भिर बन्न आग्रह गरेको हो ।
संस्थाका अध्यक्ष दिपक श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ–“राखेपले गरेको पछिल्लो घोषणा मान्ने हो भने नवौं वृहत राष्ट्रिय खेलकुद महोत्सव यही फागुनको तेस्रो साता गण्डकीमा सुरु हुनुपर्ने हो । तर त्यस अनुसार जिल्ला र प्रदेशका छनोट तालिका अझैसम्म सार्वजनिक गरिएको छैन । यसबाट पनि राष्ट्रिय खेलकुद परिषद र युवा तथा खेलकुद मन्त्रालय गम्भीर नरहेको प्रमाणित हुन्छ ।”
कोभिड १९ महामारीको प्रभाव तथा नेपाली खेलकुदका सरोकारवाला निकायहरुको उदासिनताका कारण गतवर्ष नै गण्डकी प्रदेशमा हुनुपर्ने नवौं वृहत राष्ट्रिय खेलकुद महोत्सव अझैसम्म हुन नसकेको र कहिले हुने समेत टुंगो नलागेको जनाउँदै विज्ञप्तीमा भनिएको छ–“नेपाली खेलकुदको सर्वोच्च निकाय राखेपको कार्यकारी प्रमूख सदस्य–सचिव सम्बन्धि विवाद अहिले सर्वोच्च अदालतमा विचाराधिन छ । सम्पूर्ण खेलकुदको कार्यकारी प्रमूखको विषय टुंगो नलाग्दा स्वभाविक रुपमा नेपाली खेलकुद थप ठप्प बनेको छ ।”
राखेप बोर्डले नीतिगत रुपमा सबै निर्णय गरिसकेको अवस्थामा काम गर्नुपर्ने भनेको स्थायी सरकारको रुपमा रहेको कर्मचारीतन्त्रले नवौं राष्ट्रियको तयारी थाल्नु पर्ने जनाउँदै कार्यकारी प्रमूखको मुद्धा छिनोफानो नभएसम्मको समयमा बोर्डको अघिल्लो निर्णयलाई आधार मानेर राखेपका विभिन्न विभागहरुले तयारीको काम गर्नुपर्नेमा सबैले मुख हेराहेरको स्थितीमा रहनु दूर्भाग्य वाहेक केहीहुन नसकेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
खेलाडीले प्रशिक्षण र प्रतिस्पर्धाको मौका नपाउने हो भने उसको मेहनतको कुनै अर्थ नरहने जिकिर गर्दै विज्ञप्तीमा अदालतबाट मुद्धा टुंगो नलागेसम्मका लागि राखेपका विभिन्न विभागलाई सक्रियताका साथ तयारीमा जुट्न संस्थाले आग्रह गरेको छ । साथै युवा तथा खेलकुद मन्त्रालयलाई पनि सदस्य सचिव विवादको टुंगो नलागेको बहानामा खेलकुदका सबै गतिविधि रोकिने अवस्थाको अन्त्य गर्न प्रभावकारी पहल कदमीका लागि मन्त्रालय संग अनुरोध गर्दै विज्ञप्ति मार्फत सम्मानित सर्वोच्च अदालतलाई पनि छिटो भन्दा छिटो राखेप सदस्य सचिवको मुद्धाको टुंगो लगाएर नेपाली खेलकुदलाई अनिर्णयको बन्दी बन्नबाट जोगाउन संघले आह्वान गरेको छ ।
