भलिबल खेलाडी छनौट विवाद, गण्डकीका खेलप्रेमीहरु निराश

पोखरा स्पोर्ट्स । बंगालादेशमा आयोजना हुने काभा मेन्स भलिबल च्याम्पियनसिपका लागि १८ खेलाडीहरुको छनौट सूची बाहिरिए संग यति बेला सामाजिक सञ्जाल रंङ्गिएको छ ।

नेपाल भलिबल संघले छनौट गरेका १८ खेलाडी मध्ये गण्डकी प्रदेशका खेलाडीहरु नअटाउँदा यति बेला प्रदेशको भलिबल वृत्तमा छनौट प्रक्रियाको विषयलाई विरोध सुरू भएको हो । गण्डकी प्रदेशका केही चर्चित खेलाडी मध्ये हिमाल सुनारीसहित खेलाडीहरु छनौटमा नपर्दा विरोध भएको हो ।

विशेष गरी नेपाली राष्ट्रिय टोलीमा मिडल ब्लकरको विषयलाई लिएर विरोध भइरहँदा सामाजिक सञ्जालमा नेपाल भलिबल संघमा गण्डकीबाट प्रतिनिधित्व गरेका उपाध्यक्ष, सल्लाहकारसहित कार्यसमिति सदस्यहरु सबैले राजिनामा दिनु पर्ने बताएका छन् ।

तर यो विषयमा गण्डकी प्रदेश भलिबल संघ, प्रशिक्षक र स्वयं छनौटमा पर्न नसकेका खेलाडीहरुको कुनै आधिकारिक धारणा भने आइसकेको छैन । तर मुख्य प्रशिक्षक जगदिश भट्टले भने छनौट प्रक्रिया निष्पक्ष र मापदण्ड आधारित रहेको बताउँदै कसैलाई काखा–पाखा नगरिएको बताएका छन् । उनले भनेका छन्–“यो छनौट अन्तर्राष्ट्रिय सहभागिताका लागि हो । यसमा छनौटको स्पष्ट मापदण्ड छ । यसकारण को छुट्यो को पर्यो भन्दा पनि उत्कृष्टताको आधारमा नै खेलाडी छनौट भएका हुन् ।”

यता केहीले नेपाल भलिबल संघले संघे गण्डकीका खेलाडीहरु प्रति संधै राष्ट्रिय टिमको छनौटमा भेदभाव गरेको बताउँदै भलिबलको उर्वर थलो गण्डकी प्रदेशकै खेलाडीहरु छुट्नु नियोजित भएको आरोप समेत लगाएका छन् । राष्ट्रिय टिममा नपर्दा धेरै उत्कृष्ट खेलाडीहरु विदेश पलायन समेत भएको आरोप उनीहरुको छ ।

“यो देशको प्रतिनिधित्वको कुरा हो । कुनै टोल र जिल्लाको सहभागिता होइन” सामाजिक सञ्जालमा एक भलिबल प्रेमी लेख्छन्–“कसैलाई छनौटको विषयमा गाली गर्नु भन्दा पनि नेपालले विदेशी भूमीमा देशको झण्डा फहराओस भन्ने विषय प्रमुख हो ।”

केहीले भने सामाजिक सञ्जालमा उठेक विषय गलत रहेको बताउँदै छनौट विधिले नै सबैलाई बाँधेको बताए । उनीहरुले भनेका छन्, “सामाजिक सञ्जालमा लेख्न छुट सबैलाई छ । तर विधि र प्रक्रिया अर्को तर्फ छ । विधिले नै सबैलाई बाँधेको छ । को खेलाडी टिममा पर्ने नपर्ने त्यो विषय विधिसम्मत नभएमा कुरा उठ्नु स्वाभाविक थियो । जे हुँदैछ यसले भलिबल खेल विकासमा वाधा पुग्छ भने खेलाडीहरुको मनोबल समेत खस्किन्छ ।”

काभा मेन्स भलिबल च्याम्पियनसिपमा गण्डकी प्रदेशका खेलाडीहरु छनौट नहुनुले भलिबल प्रेमीहरुमा निराशा पक्कै छाएको छ । छनौट हुनु वा नहुनु भन्दा पनि गण्डकी प्रदेशको तयारी अझै पुगेनकी भन्ने विषय पनि प्रमुख हो । गण्डकीको भलिबलमा संधै उत्साह जगाउने आम भलिबल प्रेमीहरुको जिज्ञासा मेटाउन गण्डकी प्रदेश भलिबल संघ अझै जिम्मेवार बन्नु पर्ने हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close