दोस्रो ऋषिङ अल्ट्रा म्याराथनको उपाधि तामाङलाई

पोखरा स्पोर्टस । तनहुँको ऋषिङ गाउँपालिकाले आज आयोजना गरेको दोस्रो ऋषिङ अल्ट्रा म्याराथनको उपाधि तीर्थराज तामाङले जितेका छन् । ४२ किमी दूरीको म्याराथन २ घण्टा ५१ मिनेट २५ सेकेन्डमा पार गर्दै त्रिभुवन आर्मी क्लबका तामाङले उपाधि जितेका हुन् ।

प्रतियोगितामा देवराज महतारा द्वितीय भएका छन् । उनले उक्त दूरी २ घण्टा ५४ मिनेट २५ सेकेन्डमा पूरा गरे। प्रतियोगितामा सोलुखुम्बुका सुमन कुलुङ राई तृतीय भए । उनले उक्त दूरी तीन घण्टा पाँच मिनेट ४६ सेकेन्डमा पार गरे । सान्त्वना भएका तेह्रथुमका प्रताप खड्काले उक्त दूरी तीन घन्टा १० मिनेट ४५ सेकेन्डमा पार गर्न सफल भए । खुल्लातर्फको अल्ट्रा म्याराथनमा ४९ धावकको सहभागिता थियो ।

धारुङ भञ्ज्याङबाट सुरु भएको दौड रानीपोखरी गाउँपालिकाको कार्यालय, अर्खलाछाप, काफलडाँडा, पुरानो ऋषिङ, पोखरी भञ्ज्याङ, गोठादी, ढुङ्गाडे, चालिसे, भिरकोट, अर्चल्दी, मौरीबास, दाङसिरी, दुवुङकोट पुगेर टुङ्गिएको थियो ।

खुल्लातर्फ प्रथम हुनेलाई रु ६५ हजार, द्वितीय हुनेलाई रु ४० हजार, तृतीय हुनेलाई रु २५ हजार र सान्त्वना हुनेलाई रु १० हजार प्रदान गरिएको गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिए ।

महिलातर्फको चार किमी दौडमा सीता रानाभाट प्रथम, यमुना थापा द्वितीय, सुस्मिता रानाभाट तृतीय र विष्णु परियार सान्त्वना सफल  भएका छन् । महिलातर्फ प्रथम हुनेलाई रु १० हजार, द्वितीय हुनेलाई रु आठ हजार, तृतीय हुनेलाई रु पाँच हजार र सान्त्वना हुने एक जनालाई रु दुई हजार पुरस्कार प्रदान गरिएको छ ।

गत वर्ष आयोजित प्रथम ऋषिङ म्याराथनको उपाधि जुम्लाका राजन रोकायाले जितेका थिए । प्रतियोगितामा डोटीका नवराज साउद द्वितीय, सोलुखुम्बुका सुमन कुलुङ राई तृतीय र कालीकोटका देवराज महतारा चौथो भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close