
पोखरा स्पोर्टस । मोफसलको बहुप्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा ! रारा गोल्ड कप फुटबल २० औं सस्करण माघ ६ गते बाट पोखरा रंगशालामा सञ्चालन हुने भएको छ ।

सहारा क्लव पोखराको आयोजना तथा हिम श्री फुड्सको मुख्य प्रायोजनमा हुने प्रतियोगितामा आयोजक सहारा क्लव, एक अमेरिकी टिम सहित १० टिमको सहभागिता हुने भएको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
माघ १५ गते सम्म सञ्चालन हुने प्रतियोगितामा संकटा क्लब, मछिन्द्र क्लब, नेपाल पुलिस फुटबल क्लब, हिमालयन शेर्पा क्लब, रुस्लान थ्रिस्टार क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल ए. पि. एफ. क्लब, विवाईएससी मिनेसोटा अमेरिका, मनाङ्ग मर्स्याङ्गदी क्लब र सहारा क्लब पोखराको सहभागिता रहने सहारा क्लवका अध्यक्ष हरिराम गुरुङ ‘सुरज’ले जानकारी दिएका छन् । स्मरणिय रहोस गत वर्षको विजेता संकटा क्लब र उपविजेता अफ्रिकन रुट एसोसिएसन डाउल्ला, क्यामरुन रहेको थियो ।
गत वर्षको अनुमानित आय व्यय यस्तो छ
हरेक वर्ष समयमा आहा राराको आय व्यय सार्वजनिक गर्ने गरेको सहाराले करिव एक वर्ष पुगि सक्दा समेत सार्वजनिक गरेको छैन । तर क्लवले सोमबार आयोजित पत्रकार सम्मेलनमा गत वर्ष आयोजित १९ औं आहा ! रारा गोल्ड कप २०७७ फुटबल प्रतियोगिताको आय–व्यय विवरणबारे जानकारी दिएको छ । सहाराले समय परिस्थितिले सार्वजनिक गर्न नसकिएको आयोजकले जनाउँदै गत वर्षको आम्दानी तर्फ ७६ लाख ५० हजार ६ सय ४७ रुपैयाँ ५७ पैसा र कुल खर्च ६३ लाख १ हजार १ सय ९९ रुपैयाँ २३ पैसा र जम्मा वचत रकम १३ लाख ४९ हजार ४ सय ४७ रुपैयाँ ३४ पैसा रहेको जानकारी गराएको छ ।
“खेलकुदको विकासमा सहकार्य गर्रौ, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं” भन्ने उद्धेश्यका साथ आयोजना हुने प्रतियोगिता तर्फ आम्दानी १ करोड ३६ लाख १ हजार रुपैया र कुल अनुमानित खर्च १ करोड ६ लाख ४८ हजार ५ सय रुपैयाँ लाग्ने अनुमान गरिएको छ । उक्त प्रतियोगितामा वचत हुन आएको रकम क्लबद्वारा पोखरा १७ मा सञ्चालित सुर्य बहादुर के.सी. स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गरिने महासचिव रामजी प्रसाद अधिकारीले बताए । हाल एकेडेमीमा तेश्रो व्याचका १४ जिल्लाका २४ जना बालकहरु आश्रित छन् ।
यस प्रतियोगितालाई पहिलो संस्करण देखी नै मुख्य प्रायोजकको रुपमा मोफसलको व्यापारिक प्रतिष्ठान हिमश्री फुड्स प्रा. लि. को उत्पादन आहा तथा रारा तयारी चाउचाउले गरेको छ । सर्वोत्कृष्ट खेलाडी पुरस्कार सिताजको अप्रिला स्कुटर, सर्वाधिक गोलकर्ता पुरस्कार प्रायोजन हंगकंग निवासी अधिबक्ता लोकदोहोरि गायक समाजसेवी देव गुरुङ (नगद रु ५० हजार), अफिसियल बैंक लुम्बिनी विकास बैंक, इन्टरनेट पार्टनर एयरसन, अफिसियल, स्पोर्टस वेयर पार्टनर, एक्स टेप, अफिसियल एयर लाइन्स बुद्ध एअर, सहयोगी संस्था राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद परिषद, गण्डकी, अखिल नेपाल फुटबल संघ,पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति, जिल्ला खेलकुद विकास समिति कास्की, कास्की जिल्ला फुटबल संघ, सहारा यु.के., सहारा क्लब हङ्गकङ्ग, सहारा क्लब अष्ट्रेलिया, समेतको बिशेष सहयोग र पोखरा महानगरपालिकाको संयोजनमा क्लबले प्रतियोगिताको आयोजना गर्ने लक्ष्य लिएको आयोजकले जनाएको छ ।
