
पोखरा स्पोर्टस । कास्की जिल्ला टेवुल टेनिस संघले नयाँ वर्ष २०७९ को भित्तेपात्रो (क्यालेण्डर) प्रकाशित गरेको छ ।
उक्त क्यालेण्डरको एक कार्यक्रमका विच प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव तेज बहादुर गुरुङले लोकापर्ण गरेका छन् । सो अवसरमा वोल्दै सदस्य सचिव गुरुङले कास्की टेनिसले पछिल्लो समयमा गरेको कार्यको प्रशंसा गर्दै पोखरामा हुने नवौं राष्ट्रिय खेलकुदका लागि जुट्न उनले आग्रह गरे ।
टेवुल टेनिस कास्कीले प्रकाशन गरेको भित्ते पात्रो दस्तावेजका रुपमा रहने बताउँदै सदस्य सचिव गुरुङले समाजमा खेलकुदको जनमत सिर्जना गरी प्रयाप्त लगानीका लागि सरकारलाई घच्घच्याउने पर्ने बताए । उनले राष्ट्रको पहिचान र सामाजिक रुपान्तरणका लागि खेलकुद अपरिहार्य रहेको तथ्य अघि सार्दै उनले आगामी आर्थिक वर्षका लागि परिषदले खेलकुदका विभिन्न कार्यक्रमका लागि बजेटको तयारी गरिरहेको जानकारी दिए ।
कास्की जिल्ला टेनिस संघका अध्यक्ष उत्तम जोशीको अध्यक्षतामा भएको कार्यक्रममा संघका सल्लाहाकार एव हिसान गण्डकीका अध्यक्ष रमाकान्त बराल, पोखरा महानगर खेलकुद विकासका सदस्य भरत वाँनिया, संघका सदस्यद्वय कृष्ण रानाभाट र निर्मल सोतीले समेत आफ्ना भनाई राखेका थिए ।
कास्की जिल्ला टेनिस संघले खेलाडी उत्पादनका लागि यति बेला नियमित अभ्यासका कार्यक्रमहरु समेत सञ्चालन गरिरहेको छ ।
