
पोखरा स्पोर्टस । गण्डकी प्रदेशमा तय गरिएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्ष्य गरी खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रदेशस्तरीय खुला आर्चरी प्रतियोगिता पोखरामा हुने भएको छ ।
कास्की जिल्ला आर्चरी सङ्घको आयोजनामा यही पुस २३ र २४ गते पोखरा रङ्गशालास्थित आर्चरी मैदानमा सञ्चालन हुने प्रतियोगिताबाट नयाँ खेलाडी उत्पादन गरी उनीहरुलाई राष्ट्रिय खेलकुदमा समावेश गर्ने लक्ष्य राखिएको आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
राष्ट्रिय खेलकुदलाई मध्यनजर गरी खेलाडीको उच्च मनोबल र पर्याप्त अभ्यास पूरा गर्न र धेरैभन्दा धेरै पदक प्राप्त गर्न सक्षम बनाउने उद्देश्यले पहिलो पटक प्रदेशस्तरीय प्रतियोगिता गरिएको प्रतियोगिता संयोजक वसन्त गौचन (साकुरा)ले जानकारी दिए ।
उहाँका अनुसार प्रतियोगितामा गण्डकी प्रदेशका मनाङ, मुस्ताङ, म्याग्दी, बाग्लुङ, पर्वत र कास्कीबाट गरी ७५ खेलाडीले ‘स्ट्याण्डर्ड– ३०’ मिटरमा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताबाट छानिएका १० उत्कृष्ट खेलाडीलाई नवौँ राष्ट्रिय खेलकुदको तयारीका लागि पोखरामै थप प्रशिक्षण सञ्चालन गरिने उहाँले जानकारी दिए।
उहाँले भन्नुभयो, “राष्ट्रको गौरवसँग जोडिएको राष्ट्रिय खेलकुदका लागि क्षमतावान् खेलाडी उत्पादन गर्ने हाम्रो योजना छ । विश्व आर्चरी सङ्घको नियमानुसार खेलाइने प्रतियोगिता नयाँ खेलाडी उत्पादन र उनीहरुको थप प्रशिक्षणका लागि महत्वपूर्ण हुने विश्वास लिएका छौँ ।”
प्रदेशस्तरीय सो प्रतियोगिताबाट छनोट भएकामध्ये चार खेलाडीले राष्ट्रिय खेलकुदमा ‘स्टाण्डर्ड क्याटागोरी’मा पदकका लागि भिड्ने बताइन्छ । प्रतियोगिताका विजेता खेलाडीलाई नगद पुरस्कारको समेत व्यवस्था गरिएको सङ्घले जनाएको छ । व्यक्तिगततर्फ प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्नेले क्रमशः रु २५, २०, १५ र १० हजार नगद पुरस्कारसहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने कास्की जिल्ला आर्चरी सङ्घका अध्यक्ष योगेन्द्र शेरचनले जानकारी दिए ।
लुम्बिनी प्रदेशमा तीन वर्षअघि सम्पन्न आठौँ राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेश आर्चरीमा च्याम्पियन बनेको थियो । सो प्रतियोगितामा आर्चरीमा पाँच स्वर्ण, चार रजत र तीन कास्य गरी १२ पदक जित्न सफल भएको अध्यक्ष शेरचनले बताए ।
आर्चरी गण्डकी प्रदेशका छन्त्याल, मगर, थकाली र गुरुङ समुदायमा लोकप्रिय खेलमा पर्दछ । हालसम्म गण्डकी प्रदेशबाट किशोरकुमार गुरुङ, योगेन्द्र शेरचन, असिम शेरचन, नुुटुक गुरुङ, दिलकुमार गुरुङ र देव पुन मगरले अन्तर्राष्ट्रिय पदक जित्न सफल भएका छन् ।
यसैगरी महिलातर्फ सुजना गौचन, मन्सा गुरुङ, मोनिका राना र रश्मी दर्लामीले अन्तर्राष्ट्रिय आर्चरी प्रतियोगितामा पदक जितेको सङ्घले जनाएको छ । पाँचौँ राष्ट्रिय खेलकुददेखि गण्डकी प्रदेश आर्चरीमा निरन्तर च्याम्पियन बनेको बताइन्छ ।
