
पोखरा स्पोर्टस । गण्डकी प्रदेश सरकारले बङ्गलादेशमा गत साता सम्पन्न ‘एशियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कप’को उपाधि बिजेता नेपाली टोलीका चार खेलाडीलाई नगद सहित सम्मान गरेको छ ।

युवा तथा खेलकुद मन्त्रालयले मन्त्रालयमा एक कार्यक्रम आयोजना गरी नेपाली राष्ट्रिय महिला भलिबल टोलीमा गण्डकीबाट प्रतिनिधित्व गरी एशियन सेन्ट्रल जोन भलिबलमा उपाधि जित्ने टोलीका सदस्य खेलाडीहरुलाई नगद जनही रु ५० हजार तथा प्रशंसापत्रबाट सम्मान गरेको हो ।
युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ, प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष धोजकुमार गुरुङ र परिषद्का सदस्य सचिव तेजबहादुर गुरुङ, मन्त्रालयका निमित्त सचिव तेज प्रसाद काफ्लेले खेलाडीहरुलाई नगद, प्रशंसापत्र तथा दोसल्ला ओडाएर सम्मान गरे ।
नगद सहित पुरस्कृत हुने खेलाडीहरुमा राष्ट्रिय टोलीका कप्तान अरुणा शाही(म्याग्दी), सोफिया पुन(बाग्लुङ), उषा भण्डारी(तनहुँ)र शान्तिकुमारी थारु(नवलपरासी) छन् । सो अवसरमा नेपाल भलिबल सङ्घका कार्यबाहक अध्यक्ष एवं टोली नेता यामबहादुर गुरुङलाई पनि प्रशंसापत्रबाट सम्मान गरिएको थियो ।
नेपाली महिला भलिबल टोलीले गत साता बङ्गलादेशमा भएको सो प्रतियोगितामा फाइनलमा बलियो उज्वेकिस्तानलाई पराजित गर्दै उपाधि रक्षा गरेको थियो । यसअघि सन् २०१९ मा सम्पन्न सो प्रतियोगिताको पहिलो संस्करण पनि नेपाली टोलीले जितेको थियो ।
सम्मान कार्यक्रममा मन्त्री गुरुङले खेलकुद पर्यटनलाई सरकारले प्राथमिकता राखेको बताए । खेलाडी प्रोत्साहन, क्षमता विकास, प्रशिक्षण लगायतका कार्यक्रमका लागि मन्त्रालयमा बजेट अभाव रहेपनि सीमित साधन स्रोतका साथ मन्त्रालय खेलकुद विकासमा अघि बढेको बताए ।
यस्तै प्रदेश खेलकुदका उपाध्यक्ष धोज कुमार गुरुङले नेपाली महिला भलिवल टोलीले देशको गौरव बढाउने कार्यमा महत्वपूर्ण योगदान दिएको बताए ।
मन्त्रालय निमित्त सचिव तेजप्रसाद काफ्लेले अन्तर्राष्ट्रिय प्रतियोगितामा उपाधि जितेर गण्डकी प्रदेश र देशकै नाम राख्न सफल भएकोमा खेलाडीहरुलाई सम्मान गरिएको बताए ।
परिषदका सदस्य सचिव गुरुङले खेलाडीको हौसला बढाउन र प्रोत्साहनका लागि सम्मानले योगदान पुग्ने विश्वास व्यक्त गरे । उज्वेकिस्तान जस्तो बलियो टिमलाई हराएर उपाधि जित्न सफल भएको भन्दै खेलाडीहरुको प्रशंसा गर्दै नवौं राष्ट्रिय खेलकुदमा पनि उपाधि जित्ने उद्देश्यका साथ अभ्यास गर्न खेलाडीहरुलाई उनले आग्रह गरे ।
नेपाली महिला भलिबल टोलीका कप्तान शाहीले गण्डकी प्रदेशमा खेलाडी उत्पादन भएपनि लामो समयसम्म संरक्षण गर्न नसकिएको बताइन । उनले प्रतियोगिताको आयोजना सहित खेलाडीलाई जिवनवृतीका लागि सरकारले पहल गर्नुपर्ने बताउँदै भनिन–“विगतमा नेपाली महिला भलिबल गण्डकी क्षेत्रले धानेको अवस्था थियो । तर पछिल्लो समय खेलाडी उत्पादन र टिकाउन कठिन रहेको छ । खेलपछिको जीवनको सुनिश्चितता नहुँदा पलायन हुने अवस्था छ यसमा सरकारले ध्यान दिन आग्रह गर्दछु ।”
