पोखराका प्रदीपलाई माछापुच्छ्रे बैंक ओपन टेनिस उपाधि, उपाधि संगै शिर्ष वरियतामा उक्लिए

पोखरा स्पोर्टस । १८ औं माछापुच्छ्रे बैंक पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता अन्तर्गत मेन्स सिंंगल्सको उपाधि पोखराका प्रदीप खड्काले जितेका छन् ।

कास्की जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिताको शुक्रबार भएको फाइनल खेलमा प्रदीपले आरभ सम्राट हाडालाई ६–३, ६–४ को सोझो सेटमा पराजित गर्दै नगद ८० हजार सहितको उपाधी जितेका हुन् । जितसंगै खड्का नेपालको शिर्ष वरियतामा उक्लिएका छन् । गत महिना काठमाण्डौमा सम्पन्न गणेशमान राष्ट्रिय टेनिस प्रतियोगितामा खड्का आरभसंग ६–३, ६–१ ले पराजित हुन पुगेका थिए । प्रतियोगितामा उपविजेता बनेका आरभले नगद ४० हजार सहित मेडल प्रमाणपत्र पुरस्कार प्राप्त गरे ।

प्रतियोगिता अन्तर्गत ३५ वर्ष माथिको एकलतर्फको उपाधी सन्तोष खत्रीले आफ्नों नाममा गराए । फाइनल खेलमा सन्तोषले भिष्म गुरुङ्गलाई ६–०, ६–१ को सहज सेटमा पराजित गरे । विजेता खत्रीले नगद ६० हजार तथा उपविजेता गुरुङ्गले ३० हजार सहित ट्रफि मेडल पुरस्कारका पाए ।

त्यसैगरि ४५ वर्ष माथिको एकल उपाधि चन्द्र शाहीले जिते । उनले बिमल कुमार गुरुङ्गलाई ६–३, ६–२ को सोझो सेटमा जित हाँसिल गर्दै सो उपाधी रक्षा गरेका हुन् । विजेताले नगद ४० हजार, उपविजेताले नगद २० हजार सहित ट्रफि मेडल पुरस्कार प्राप्त गरे ।

त्यस्तै ४५ वर्ष माथिको मेन्स डबल्समा हिमाल शाह र राजु क्षेत्रीको जोडी विजेता बन्यो । हिमाल जोडीले पोखराका विनोद कायस्थ र विकास गुरुङ्गको जोडीमाथी ६–२, ६–२ को सोझो सेटमा जित निकाल्दै प्रथम स्थान हासिल गरेको हो । विजेताले नगद २० हजार तथा उपविजेताले नगद १० हजार सहितको पुरस्कार प्राप्त गरे ।

विजयी खेलाडीहरुलाई प्रतियोगिताको मुख्य प्रायोजक माछापुच्छ्रे बैंक लि.का पूर्व अध्यक्ष रोशन केसी, नेपाल टेनिस संघका अध्यक्ष ज्योती राणा, प्रतियोगिताको प्रायोजक ट्र्याङ्कुलिटी स्पाका निर्देशक रनिल फैजु, नेपाल टेनिस संघका पूर्व अध्यक्ष मनोज राणा, सूर्य प्रेम टेनिस कोर्टका निर्माता किरण केसी लगायतले पुरस्कार प्रदान गरे । आयोजक संघका अध्यक्ष लोक गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रम सचिव नविन श्रेष्ठले समेत आफ्ना भनाई राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close