
पोखरा स्पोर्टस । दोस्रो लिगलिग साइकल दौडको उपाधि पुरुषतर्फ सुरज राना र महिलातर्फ उषा खनालले जितेका छन् ।


गोरखा पालुङटार नगरपालिकास्थित ऐतिहासिक स्थल लिगलिग कोटमा लिगलिग भिलेज स्पोर्टसद्वारा शुक्रबार आयोजित उक्त साइकल दौडमा सुरज र उषाले उपाधि जितेका हुन् । साइकल दौडमा पुरुषतर्फ सहभागी ४७ प्रतिष्पर्धीलाई पछि पार्दै ५३ किलोमिटरको दुरी २ घन्टा २५ मिनेट ४८ सेकेण्डमा पार गर्दै उनले उपाधि जितेका थिए । त्यसैगरी महिला तर्फ उषाले २ घन्टा ५५ मिनेट ५८ सेकेण्डमा पार गर्दै उपाधि जितिन् । उनीहरुले जनही नगद २५ हजार नगदका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।
खेलकुदमार्फत ऐतिहासिक लिगलिग कोटको प्रवर्द्धन गर्न आयोजित उक्त साइकल दौडमा पुरुषतर्फ नै प्रकाश थापाले २ घन्टा २५ मिनेट ५० सेकेण्डमा पार गर्दै दोस्रो भए भने लक्ष्मण मल्लले २ घन्टा २५ मिनेट ५१ सेकेण्डमा पार गर्दै तेश्रो भए । यता महिला तर्फ मञ्जु कुमारी खड्काले ३ घन्टा ११ मिनेट १७ सेकेण्डमा ५३ किलोमिटर दुरी पार गर्दै दोस्रो र इन्द्रकला नेम्वाङ ३ घन्टा १७ मिनेट ४५ सेकेण्डमा दुरी पार गर्दै तेश्रो भइन । पुरुष र महिलातर्फ दोस्रो र तेस्रो हुने खेलाडीले जनही नगद क्रमशः २० र १५ हजार हात पारे ।
यसै गरी प्रतियोगितामा पुरुषतर्फ हिमाल टमटा चौथो हुँदै नगद १० हजार र हिक्मत विक पाँचौ हुँदै नगद ५ हजार हात पारे । छैटौं देखि दशौं सम्म क्रमश अच्युत कृष्ण खरेल, अलिन महर्जन, कुमार तामाङ, नवराज न्यौपाने र कमल ओली भएका छन् महिलातर्फ चौथो स्थान केशरी थापा मगर भएकी छन् । उनीहरुलाई समेत सान्त्वाना पुरस्कार स्वरुप नगद प्रदान गरिएको थियो ।
पुरुष मास्टर्सतर्फ (४० वर्ष भन्दा माथी) नयन कुमार मानन्धर, जोनाथन स्टेवर्ड (अमेरिका) र विकाश मर्हजन क्रमश पहिलो, दोस्रो र तेश्रो हुँदै क्रमश नगद ५, ३ र २ हजार हात पारे । गण्डकी प्रदेशबाट सहभागी भएका प्रकाश थापा मगर, हिक्मत विक, र खुसीमान घर्ती क्रमश पहिलो, दोस्रो र तेश्रो हुँदै क्रमश नगद ५, ३ र २ हजार हात पारे भने महिला तर्फ उषा थापा मगर र केशरी थापा मगर क्रमश पहिलो र दोस्रो हुँदै नगद ५ हजार र ३ हजार हात पारे । पालुङटारबाट सहभागी भएका पुरुषतर्फ सुरज राजभाट र पर्वत रोका पहिलो र दोस्रो हुँदै नगद ५ हजार र ३ हजार प्राप्त गरे ।
प्रतियोगितामा विजयी खेलाडीहरुलाई गण्डकी प्रदेशका यूवा तथा खेलकुद मन्त्री राजिव गुरुङ, पालुङटार नगरपालिकाका प्रमुख ई.दिपक बावु कंडेल, प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव तेज बहादुर गुरुङ, प्रदेश खेलकुद सदस्य खगेन्द्र क्षेत्री लगायतले नगद, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए । सो अवसरमा मन्त्री गुरुङले ऐतिहासिक लिगलिग साइकल दौडलाई आगामी वर्ष देखि वार्षिक योजनामा राख्ने बताए । सो अवसरमा प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेज बहादुर गुरुङले आफ्ना भनाई राख्दै खेलकुद मार्फत पर्यटन प्रवर्द्धन गर्न यस प्रकारका कार्यक्रमहरु सहयोगी हुने बताए ।
लिगलिग साइकल दौड संस्था लिगलिग भिलेज स्पोर्टसका अध्यक्ष सञ्जिव राना मगरको अध्यक्षतामा भएको समापन कार्यक्रममा प्रमिला गुरुङ राना मगर र अनिता गुरुङले समेत आफ्ना भनाई राखेका थिए ।
