वर्ल्ड म्याराथन ग्रुपमा पोखरा अन्तर्राष्ट्रिय म्याराथन

पोखरा स्पोर्टस । विश्वभरीका धावकहरुलाई सूचना प्रदान गर्ने वर्ल्ड म्याराथन ग्रुपमा नेपालकै जेठो म्याराथन पोखरा अन्तर्राष्ट्रिय म्याराथन समेत परेको छ ।

वर्ल्ड म्याराथन ग्रुपमा समाहित भए संगै पोखरा म्याराथनमा सहभागिताका लागि अन्तर्राष्ट्रिय धावकहरुको चासो समेत बढ्दै गएको हो । सो बारे जानकारी दिंदै १६ औं संस्करण पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिताका संयोजक तथा पोखरा म्याराथन आयोजक संस्था नेपाल भुतपूर्व खेलाडी मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले वर्ल्ड म्याराथन ग्रुपमा समाहित हुनुले पोखरा अन्तर्राष्ट्रिय म्याराथनको गौरव समेत बढेको बताए । उनले भने–“हामी अव सन २०२३/२४ सम्ममा एथलेटिक्सहरुको छाता संस्था ‘एम्स’मा जाने प्रक्रियामा छौं, यसले एम्समा पुग्न बाटो सहज हुनेछ ।” अन्तर्राष्ट्रिय धावकहरुले वर्ल्ड म्याराथन ग्रुपको वेवसाइटमा पुगेर आफ्नो नाम दर्ता गर्न सक्नेछन् ।

पोखरालाई विश्वमा खेलकुद शहर संगै म्याराथनको सहरको रुपमा परिचत गराउन निरन्तर आयोजना भइरहको पोखरा म्याराथनमा सहभागिताका लागि युरोप, अफ्रिका लगायतका देशहरुका धावकहरुले आफ्नो सहभागिताका लागि पत्राचार गरिरहेको मञ्चका महासचिव कृष्ण तिमिल्सिनाले बताए । यसैगरी पोखरा शहर र गण्डकी प्रदेश संग भगिनी सम्वन्ध भएका शहर र प्रान्तहरु संग समेत पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा सहभागिताका लागि पत्रचार भइरहेको महासचिव तिमिल्सिनाले जानकारी दिए ।

आगामी फागुन ७ गते शनिवार हुने पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई गण्डकी प्रदेश सरकार, यूवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेश, राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद परिषद गण्डकी, पोखरा महानगर पालिका, कृषि विकास बैंक लि., पोखरा अन्तर्राष्टिय म्याराथनको अन्तर्राष्ट्रिय पार्टनर संस्था पोखरेली मञ्च यूके, पोखराको सुजल डेरी प्राली, नेपालमा सर्वाधिक लोकप्रिय जुत्ताको व्राण्ड एक्स–टेप, नेपालमा अर्को लोकप्रिय स्पोर्टस वेयर केल्मी लगायतले सहयोग गर्ने भएको मञ्चका कोषाध्यक्ष महेश पौडेलले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close