राष्ट्रिय महिला भलिबल टोलीलाई उपराष्ट्रपतिको बधाई

पोखरा स्पोर्टस । उपराष्ट्रपति नन्दबहादुर पुनले एसियन भलिबल कन्फेडेरेसन (एभिसी), सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसीपको फाइनलमा उज्वेकिस्तानलाई पराजित गर्दै कीर्तिमान गरेकामा राष्ट्रिय महिला भलिबल टोलीलाई बधाइ दिनुभएको छ । सोमबार बङ्गलादेशको ढाकामा सम्पन्न सिनियर महिला भलिबल च्याम्पियनसीपमा नेपालले उज्वेकिस्तानलाई पराजित गरेको थियो ।

आज एक वक्तव्य जारी गर्दै उपराष्ट्रपतिले च्याम्पियनसीपको उपाधि हासिल गरेर महिला टोलीले कीर्तिमान कायम गरेर राष्ट्रकै गौरव र प्रतिष्ठा उच्च बनाएको बताउनुभयो । उपराष्ट्रपतिले राष्ट्रको गरिमा बढाउनाका साथै नेपाल र नेपालीको शिर उँचो बनाउनुहुने राष्ट्रिय महिला भलिबल टिमका प्रमुख प्रशिक्षक जगदिश भट्ट, कप्तान अरुणा शाही, सम्पूर्ण खेलाडी, टिम म्यानेजर तथा नेपाल भलिबल सङ्घका पदाधिकारीलाई बधाई दिनुभएको छ ।

उहाँले राष्ट्रका लागि यो ऐतिहासिक सफलता दिलाउने प्रशिक्षक तथा खेलाडीमा धन्यवाद ज्ञापन गर्नुभएको छ । “भलिबल हाम्रो राष्ट्रिय खेलमात्रै नभई हिमाल, पहाड र तराईका टोलटोलमा खेल्न सकिने र नेपालका सबै भूगोललाई जोड्ने सबैभन्दा लोकप्रिय खेल पनि हो, नेपाली भलिबलको ४३ वर्ष लामो अन्तर्राष्ट्रिय यात्रामा राष्ट्रिय महिला भलिबल टिमले राष्ट्रलाई दोस्रो पटक दिलाएको यो अन्तर्राष्ट्रिय उपाधि अभूतपूर्व, अनुपम एवं प्रशंसनीय छ”, उपराष्ट्रपतिले सन्देशमा भन्नुभएको छ ।

उहाँले यस सफलताबाट देशभित्र भलिबलको लोकप्रियता अझै बढेर जानाको साथै भविष्यमा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली खेलाडी उच्च मनोबालका साथ मैदानमा उत्रने र यीभन्दा ठूला सफलता हासिल गर्नेमा उहाँले विश्वास व्यक्त गर्नुभएको छ । प्रतियोगिताको पुरुषतर्फको खेलमा नेपाली राष्ट्रिय पुरुष भलिबल टिमले गरेको प्रदर्शनको पनि उपराष्ट्रपतिले प्रशंसा गर्नुभएको छ । उहाँले नेपाली भलिबल र समग्र खेलकुद क्षेत्रको विकासका लागि आफ्नो सदैव साथ रहने बताउनुभएको उपराष्ट्रपतिको प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close