
पोखरा स्पोर्ट्स । विश्व ट्रेल रेसकी उपविजेता सुनमाया बुढालाई स्वदेशमा स्वागत गरिएको छ ।
स्पेनको क्यान फ्रान्कमा गत असोज १२ गते सम्पन्न प्रतियोगिताको ८१ किलोमिटर लङ ट्रेल रेसमा उनले उपविजेताको स्थान हासिल गरेकी थिइन् । सुनमायाले निर्धारित दूरी १० घण्टा २३ मिनेट ०३ सेकेन्डमा पूरा गरेकी थिइन् ।
मंगलबार त्रिभुवन विमास्थल ओर्लिएकी सुनमायालाई नेपाल एडभेन्चर रनिङ फेडेरेसनका कोषाध्यक्ष रिकेश योञ्जनसहित अन्य पदाधिकारी तथा परिवारका सदस्यहरुले स्वागत गरेका थिए । सो अवसरमा बोल्दै यो जितले आफूलाई निकै हौसला मिलेको बताउँदै अब विश्वमा हुने अन्य रेसमा आफ्नो सहभागिताका लागि मेहनत गर्ने बताइन् ।
नेपाली खेलाडीहरुका लागि लङ ट्रेल रेस नयाँ भए पनि नेपालमा समेत् सम्भावना रहेको बताउँदै उनले भनिन्, ‘स्पेनमा सम्पन्न यो रेस निक्कै भिन्न थियो । कठिन पनि थियो । हामीले पनि आफ्नै देशमा यस्ता सम्भावनाहरु खोज्नु पर्छ । जहाँ यूवा खेलाडीहरु यसतर्फ आर्कषित हुन सकुन् ।’ उनले राज्यले यस्ता ट्रेल रेसका सम्भावनाहरुको खोजी गर्न सके खेलकुदमार्फत पर्यटन प्रवर्द्धन गर्न सहयोग पुग्ने जनाइन् ।
विश्व च्याम्पियनसिपमा नेपालले पहिलो पटक यति ठूलो सफलता हात पारेको हो । विश्व माउन्टेन रनिङ एसोसिएसनको आयोजनामा सम्पन्न प्रतियोगिता यसपटक पहिलो पटक विश्व एथ्लेटिक्स र इन्टरनेशनल एसोसिएसन अफ अल्ट्रा रनर्सको सहकार्यमा सम्पन्न भएको थियो । प्रतियोगितामा ८० देशका १ हजार ७ सयभन्दा बढी खेलाडीको सहभागिता रहेको थियो, जुन अहिलेसम्मकै सबैभन्दा ठूलो हो ।
नेपाल एडभेन्चर रनिङ फेडेरेसनमार्फत नेपालका खेलाडीहरू सुनमाया बुढासंगै सुमन कुलुङ, साङ्गे शेर्पा र मनकुमार रोकाले प्रतिस्पर्धा गरेका थिए । ८२ किलोमिटरको दौडमा सुमन ३२औं र मनकुमार ३६औं स्थानमा रहेका थिए ।
