एनओसीकोे १२ औं साधारण सभा सम्पन्न : “अदालतको आदेशले दिर्घकालिन असर पर्‍यो”–मन्त्री गहतराज

पोखरा स्पोर्टस । नेपाल ओलम्पिक कमिटी (एनओसी)को १२ औं साधारण सभा मंगलबार सातदोबाटो स्थिति ओलम्पिक भवनमा सम्पन्न भएको छ ।

१२ औं साधारण सभाको एक समारोहका विच युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज ‘अथक’ले उद्घाटन गरेका हुन् । सो अवसरमा मन्त्री गहतराजले सर्वोच्च अदालतको आदेशले नेपाली खेलकुदमा दीर्घकालीन असर परेको बताउँदै देशको समग्र खेल क्षेत्रलाई प्रभावित पार्ने मुद्धालाई अग्रताधिकारमा राखेर हेर्नु पर्नेमा जोड दिए । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिवका विषयमा सर्वोच्च अदालतको आदेशबारे बोल्दै मन्त्री गहतराजले समस्याको चाँडै समाधान हुनुपर्ने बताए । उनले भने– “अदालतले जस्तो निर्णय गर्छ, सरकार त्यसको पालना गर्न तयार छ । तर यसको जति सक्दो चाँडै फैसला हुने अपेक्षा छ ।”

कार्यक्रममा आफ्ना भनाई राख्दै नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले खेलकुदको विषयमा तत्काल निर्णयमा पुग्ने काम हुनु पर्ने बताए । “खेलकुदका विषयमा निर्णय गर्न अदालतले विलम्ब गर्नु हुन्न,” उनले भने । अध्यक्ष श्रेष्ठले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) का निर्देशन अनुसार अबका दिनमा खेल संघ तीन महत्त्वपूर्ण पक्ष लैगिक समानता, खेलकुदमा हिंसा र खेलमिलोमतोमा सजग तथा सचेत रहनु पर्ने पनि बताउँदै भने –“नेपाली खेलकुदमा हामी आफैले महिला सहभागिताको संख्या बढाउनु छ । यस्तै खेलकुदमा हुने हिंसा, विशेषतस् यौन उत्पीडन तथा सम्भावित खेल मिलोमतोविरुद्ध हामी चनाखो हुनु पर्छ ।”

उद्घाटन सत्रमा नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले अहिले नेपाली खेलकुदमा अन्यौलता छाएको बताउँदै त्यसको समाधान चाँडै भन्दा चाँडै आवश्यक रहेको बताए। यस्तै उनले १३ औं दक्षिण एसियाली खेलकुद (साग) पछि खेल संघलाई दिने भनिएको पुरस्कार राशि चाँडै उपलब्ध गराउनु पनि अनुरोध गर्दै भने–“अहिले नेपाली खेलकुद अन्यौलग्रस्त रहे पनि मन्त्रालय अन्तर्गत कमिटी बनाएर आसन्न राष्ट्रिय खेलकुद र एसियाली खेलकुदको तयारी सुरु गर्नु पर्छ ।”

त्यस्तै नेपाल ओलम्पिक कमिटीका पूर्व अध्यक्ष ध्रुवबहादुर प्रधानले लामो प्रयासपछि ओलम्पिक आन्दोलन ठीक दिशामा पुगेकोमा खुसी व्यक्त गरे।

त्यस अवसरमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) र त्यसको मानवीय तथा सामाजिक दृष्टिकोणबाट अध्ययन गरेर प्रकासित पुस्तकको पनि विमोचन गरिएको थियो । साधारण सभाको बन्द सत्रमा साधारण सभाले कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ सन् २०२१ को प्रगति विवरण पेस गर्दै सन् २०२२ का लागि कार्यक्रम समेत प्रस्तुत गरे ।

यस्तै कोषाध्यक्ष रत्नकुमार टण्डनले आर्थिक वर्ष ०७७//७८ को आयव्यय विवरणका साथै २०२२ का लागि अनुमानित बजेट समेत प्रस्तुत गरे । साधारण सभाले महासचिव र कोषाध्यक्ष दुवैको प्रतिवेदन पनि पास गरेको छ । त्यसै अवसरमा नेपाल ओलम्पिक कमिटी अन्तर्गत रहेको विभिन्न कमिसनका अध्यक्षहरूले पनि आफ्नो प्रगति विवरण पेस गरे । कार्यक्रममा कमिटीका सदस्य तथा मार्केटिङ कमिसनका अध्यक्ष गोपालसुन्दरलाल कक्षपतिले सन् २०२१ बाट नेपाल ओलम्पिक कमिटीले दिने भनेर घोषणा गरेको नौ फरक विधामा अवार्डबारे जानकारी दिए।

कमिटीले आउने वर्षदेखि पत्रकारिता अन्तर्गत छापा, मल्टिमिडिया, फोटो पत्रकारिता भिजुअल मिडिया, खेलतर्फ पुरुष र महिला, प्रशिक्षकमा पुरुष र महिला तथा खेलतर्फ उत्कृष्ट संघलाई अवार्ड दिने भएको छ । यस्तै ओलम्पिक आन्दोलनमा टेवा पुर्‍याउनेमध्येमा पनि तीन विधामा सम्मान गरिनेछ । कार्यक्रमको अन्त्यमा अध्यक्ष श्रेष्ठले ओलम्पिक कमिटी आउने दिनमा अझ व्यवस्थित, पारदर्शी र उत्तरदायी हुने बताउदै खेल संघलाई पनि त्यसै अनुसार आफूलाई विकास गर्न अनुरोध गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close