
पोखरा स्पोर्टस । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत सोमबार पुरुष भलिबलमा लिग चरणका खेल सकिएसँगै प्रदेश १ र सुदूरपश्चिम प्रदेश क्वार्टरफाइनल प्रवेश गरेका छन् ।
पोखरा रंगशाला भलिबल कोर्टमा भएको खेलमा प्रदेश १ ले मधेश प्रदेश र सुदूरपश्चिमले गैर आवासीय नेपाली संघ (एनआरएनए) लाई पराजित गरेका हुन् । तुलनात्मक रुपमा बलियो देखिएको प्रदेश १ ले मधेश प्रदेशसँगको पहिलो सेट २५–१४ ले आफ्नो पक्षमा पा¥यो । दोस्रो सेटमा भने मधेश लयमा फर्किदा २६–२४ को प्रतिस्पर्धात्मक खेलमा प्रदेश १ भाग्यमानी ठहरियो । तेस्रो सेटमा पुनरागमन गर्दै प्रदेश १ ले २५–९ मै मधेशलाई पाखा लगायो ।
समूह ‘बी’ को दुवै खेलमा पराजय बेहोर्दै मधेश प्रदेश प्रतियोगिताबाट बाहिरएको छ । समूह विजेता हुँदै त्रिभुवन आर्मी यसअघि नै क्वार्टरफाइनल प्रवेश गरिसकेको छ ।
अर्को खेलमा सुदूरपश्चिम प्रदेशले एनआरएनएलाई ३–० सेटमा पराजित ग¥यो । सुदूरपश्चिमले २५–९, २५–२० र २५–१३ ले खेल आफ्नो पक्षमा पार्दा पुरुष भलिबलमा पाहुना टोलीको राष्ट्रिय खेलकुद यात्रा टुंगिन पुग्यो । समूह ‘सी’ को उपविजेता हुँदै सुदूरपश्चिमले क्वार्टरफाइनल यात्रालाई सुनिश्चित ग¥यो ।
प्रतियोगिता अन्तर्गत मंगलबार क्वार्टरफाइनल चरणका खेल हुने छन् । विहान सुरु हुने क्वार्टरफाइनलमा पहिलो खेल पुलिस र सुदूरपश्चिम, दोस्रो खेल त्रिभुवन आर्मी र वाग्मती प्रदेश, तेस्रो खेल एपीएफ र लुम्बिनी प्रदेश र अन्तिम खेल गण्डकी र प्रदेश १ बीच हुने छ । बुधबार सेमीफाइनल र बिहीबार फाइनल प्रतिस्पर्धा हुने छ ।
